नेपालमा अझै पनि १८.७ प्रतिशत नागरिक गरिबीको रेखामुनि

अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको श्वेतपत्रमा कोभिड–१९ महामारीबाट आर्थिक गतिविधि र रोजगारीमा आएको सङ्कुचनका कारण गरिब र सीमान्तकृत समूह सबैभन्दा जोखिममा परेको उल्लेख छ।
कोरोना महामारीको दोस्रो लहरले गरिबी र बेरोजगारीको सङ्ख्या थप बढ्ने देखिएको अर्थमन्त्री शर्माले बताए।
आर्थिक नीतिहरू गरिब तथा सीमान्तकृत समूह केन्द्रित हुन नसकेको उनको भनाई छ। आर्थिक वृद्धि दरको तुलनामा पुँजीमा आधारित आयको प्रतिफल दर उच्च रहेबाट आर्थिक असमानता बढ्दै गएको आङ्कलन गर्न सकिने श्वेतपत्रमा उल्लेख छ।
श्वेतपत्रमा हाल विभिन्न समूहका गरी करिब ३२ लाख नागरिकले सामाजिक सुरक्षा भत्ता मार्फत लाभ प्राप्त गरिरहेका उल्लेख छ। आर्थिक वर्ष २०७७/७८ मा ७६ अर्ब भन्दा बढी रकम वितरण भएको अर्थमन्त्री शर्माले जानकारी दिए।
सामाजिक सुरक्षाका कार्यक्रमहरू छरिएका र कतिपय कार्यक्रमहरूमा दोहोरापना समेत रहेकाले यसलाई पारदर्शी र छरितो बनाउनु पर्ने आवश्यकता रहेको उनले उल्लेख गरेका छन्।
सरकारले सार्वजनिक संस्थानमा गरेको लगानीको अनुपातमा प्राप्त प्रतिफल नगण्य रहेको श्वेतपत्रमा उल्लेख छ।
साउन २६, २०७८ मंगलबार १६:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।