गठबन्धन सरकारले नयाँ बजेट ल्याउने, सञ्चित कोष १ खर्ब ४३ अर्बले घाटामा

गठबन्धन सरकारले नयाँ बजेट ल्याउने, सञ्चित कोष १ खर्ब ४३ अर्बले घाटामा

अर्थमन्त्री शर्माले अघिल्लो सरकारले जारी गरेको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने जानकारी दिए। ‘सत्ता सहयात्री दलहरुबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको नीति र प्राथमिकता, जनचाहना तथा कोभिड–१९ महामारीको कारण सिर्जित चुनौती समेतको सम्बोधन हुने गरी सुधार गर्न छिट्टै नै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नेछु।’ उनले भने। 

कोभिड १९ महामारी नियन्त्रण नयाँ सरकारको प्राथमिक कर्तव्य भएको उल्लेख गर्दै मन्त्री शर्माले २०७८ साउन २५ गतेसम्म ४५ लाख २५ हजार ४ सय ३५ जनाले पहिलो र २६ लाख ६ हजार ४६ जनाले पूर्ण मात्रा खोप लगाइसकेको जानकारी दिए। उनले हालसम्म करिब १ करोड डोज खोप नेपाल भित्रिएको तथ्याङ्क प्राप्त भएको पनि जानकारी दिए। 

अत्यन्त सुविधाजनक बहुमतमा बनेको विगतको सरकारले आर्थिक वर्ष २०७५/७६ मा ८.० प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेकोमा वृद्धिदर ६.४ प्रतिशतमा सीमित हुन पुगेको अर्थमन्त्री शर्माले उल्लेख गरे। यस्तै आर्थिक वर्ष २०७६/७७ मा ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएकोमा यथार्थमा आर्थिक वृद्धिदर २.१ प्रतिशतले ऋणात्मक हुन पुगेको उल्लेख गरे।  

आर्थिक वर्ष २०७७/७८ मा पनि अर्थतन्त्रमा उल्लेख्य सुधार हुन नसकेको र बजेट मार्फत आर्थिक वृद्धिदर ७.० प्रतिशत रहने अनुमान गरिएकोमा कोभिड–१९ महामारीको दोस्रो लहरले अर्थतन्त्रमा गम्भीर प्रभाव पारेका कारण उक्त वृद्धिदर हासिल नहुने अवस्था देखिएको शर्माले बताए।  

सरकारी खर्च बढ्दै गए पनि चालु खर्चको तुलनामा पुँजीगत खर्च बढ्न नसकेको अर्थमन्त्रीले संसदमा प्रस्तुत गरिएको श्वेतपत्रमा उल्लेख गरिएको छ। श्वेतपत्रमा आर्थिक वर्ष २०७४/७५ मा सङ्घीय सरकारको कुल खर्च १० खर्ब ८७ अर्ब रुपैयाँ हुँदा पुँजीगत खर्च २४.९ प्रतिशत भएकोमा आर्थिक वर्ष २०७७/७८ मा सङ्घीय सरकारको कुल खर्च ११ खर्ब ८० अर्ब रुपैयाँ हुँदा पुँजीगत खर्च १९.३५ प्रतिशतमा सीमित हुन पुगेको उल्लेख छ। आर्थिक वर्ष २०७७/७८ मा पुँजीगत खर्चका लागि विनियोजित रकमको ६४.७ प्रतिशत मात्र खर्च भएको छ। 

अर्थमन्त्री शर्माले सरकारको सञ्चित कोष १ खर्ब ४३ अर्बले घाटामा रहेको बताए। वि.स.२०७४ चैत्रमा तत्कालीन सरकारले जारी गरेको श्वेतपत्रमा कोष ४८ अर्ब रुपैयाँले सञ्चित घाटामा रहेको उनले उल्लेख गरेका छन्। तर त्यसमा सुधार आउनुको सट्टा यस्तो घाटा आर्थिक वर्ष २०७६/७७ मा २ खर्ब १६ अर्ब पुगेको भन्दै आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा कोष १ खर्ब ४३ अर्बले घाटामा रहने देखिएको अर्थमन्त्री शर्माले बताए।  

आर्थिक वर्ष २०७७/७८ मा कुल राजस्व ९ खर्ब ३८ अर्ब सङ्कलन भएकोमा, सङ्घीय राजस्व ८ खर्ब २९ अर्ब सङ्कलन भएको श्वेतपत्रमा उल्लेख गरिएको छ। जुन चालु खर्च धान्न समेत पर्याप्त नदेखिने अर्थमन्त्री शर्माले बताए।

साउन २६, २०७८ मंगलबार १६:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।