शंकर पोखरेलविरुद्ध तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता

शंकर पोखरेलविरुद्ध तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता

बुटवल :  लुम्बिनी प्रदेशका विपक्षी दलहरूले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।

प्रस्तावमा पोखरेल अल्पमतमा रहेको दाबी गरिएको छ। पोखरेलविरुद्ध यसअगाडि नै अविश्वासको प्रस्ताव जाँदा उनले राजीनामा दिएर प्रदेशमा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पुनः मुख्यमन्त्री पदको शपथ लिएका थिए।

गत बैशाख २६ गते पुनः अविश्वासको प्रस्ताव दर्ता भएर विशेष अधिवेशनको माग गरिए पनि अधिवेशनको आह्रवान भएको थिएन। सरकारको बजेट असफल हुने भएपछि मुख्यमन्त्री पोखरेलले केन्द्रको राजनीतिको सिको गर्दै चलिरहेको अधिवेशन मध्यरात अन्त्य गराएर अध्यादेशमार्फत बजेट ल्याएका थिए।

मंगलबार दर्ता भएको तेस्रो अविश्वास प्रस्तावमा ३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षर छ। अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ।

साउन १९, २०७८ मंगलबार १७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।