सुन व्यवसायीले गृह मन्त्रीलाई भने, महसुस हुने सुरक्षा चाहियो

गृहमन्त्री वालकृष्ण खाँडलाई भेटेर सुनचाँदी व्यवसायीले महसुस हुने गरी शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेका महासंघले जनाएको छ।
व्यवसायीको हत्या, चोरी र लुटपाट गर्ने जस्ता घटना बढ्दै गएको भन्दै महासंघले गृहमन्त्री खाँडको ध्यानाकर्षण गराएको जनाएको छ।
महासंघका अध्यक्ष माणिक रत्न शाक्यले सुनचाँदी व्यवसायीले तोकिएको प्रक्रिया पुरा गरेर खरिद गरेको सुन ओसार पसार गर्दा पनि अनावश्यक रूपमा झमेला बेहोर्नु जानकारी गराएका छन्।
सुन खरिद बिक्रीका क्रममा अनावश्यक झन्झटहरू आइपर्ने, अनाहकमा व्यवसायीलाई दुःख दिइने र झुटा मुद्धाहरु लगाइने जस्ता समस्याहरूको बारेमा मन्त्री खाँडलाई जानकारी गराइएको महासंघले जनाएको छ।
गृहमन्त्री खाँडले व्यवसाय सञ्चालनमा क्रममा देखा पर्ने समस्यालाई समाधान गर्न सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए।
मन्त्री खाँडले सुनको खरिद विक्री, ओसार पसार, गरगहनाको निर्यात जस्ता कार्यहरू गर्दा कहीँ कतैबाट अप्ठ्यारो पर्न नहुने बताएको महासंघले विज्ञप्ति निकालेर जानकारी दिएको हो।
यस्तै सुनचाँदी व्यवसायी महासंघले आजै राष्ट्रिय योजना आयोगमा नवनियुक्त उपाध्यक्ष डा. विश्व नाथ पौडेललाई भेटेर आफ्ना समस्याबारे जानकारी गराएको जनाएको छ।
उपाध्यक्ष पौडेललाई महासंघले बजारमा पर्याप्त मात्रामा कच्चा पदार्थको आपूर्ति हुन नसक्दा यसबाट व्यवसाय सञ्चालनमा समस्या सृजना भएको जानकारी गराएको छ।
जवाफमा उपाध्यक्ष पौडेलले सुनचाँदी क्षेत्रको विकास र बिस्तारकालागि राज्यले आवश्यक पहल गर्ने बताएका छन्।
साउन १९, २०७८ मंगलबार १२:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।