महाधिवेशन नगरे हाम्रो त पार्टी नै खाइदिन्छन् : नेम्वाङ

महाधिवेशन नगरे हाम्रो त पार्टी नै खाइदिन्छन् : नेम्वाङ

केन्द्रीय कमिटी बैठकमा लैजाने प्रस्ताव तयार गर्न छलफल सुरु भएको उनले बताए। पार्टीको महाधिवेशन स्थानीय तहको निर्वाचन अगाडी नै सक्नु पर्ने बाध्यताका कारण वडा र स्थानीय तहको अधिवेशन गर्ने निर्णय भएको नेम्वाङले बताए। 

‘तोकिएको मितिमा महाधिवेशन गरेन भने पार्टीको वैधानिकता नै रहँदैन,’नेम्वाङले उकेरासँग भने,‘पार्टीलाई जोगाउन पनि एकताको कुरासँगै महाधिवेशन गर्नुपर्ने बाध्यता छ।’

उनले पार्टीको वैधानिकता जोगाउनकै लागि स्थायी कमिटीमा भइरहेको छलफल रोक्ने माग नभएको बताए। ‘कांग्रेसको महाधिवेशन जस्तो जति सार्दा पनि केही नहुने हुँदैन,’उनले भने,‘हाम्रो त महाधिवेशन गरेन भने पार्टी नै खाइदिन्छन्।’

उनले महाधिवेशनको तयारी गरिरहँदा पार्टी एकताको छलफल नरोकिने बताए। एकताका लागि निरन्तर छलफल हुने उनको भनाई छ। 

एमालेको आइतबार बसेको बैठकमा उपाध्यक्ष वामदेव गौतम सहभागी भएका थिए। माधव नेपाल समूह भने बैठकमा सहभागी भएको छैन। 

आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन गर्ने निर्णय गरेको छ। 

बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन लेख्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। स्थायी कमिटीले गरेको निर्णय अर्को हप्ता बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने एमालेले जनाएको छ।

साउन १८, २०७८ सोमबार ०९:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।