महिला खेलाडीको शरीरबाट आँखा किन हट्दैन ?

महिला खेलाडीको शरीरबाट आँखा किन हट्दैन ?

एजेन्सी : टोकियो ओलम्पिकमा भारतका लागि पदकको दाबेदार महिला पहलवान विनेश फोगाटको पहिलो लडाई आफूलाई सहज हुने कपडा लगाउनुबाट सुरु भयो। टिसर्ट र ट्र्याक पेन्टमा कुस्ती खेल्न सहज हुन्छ। तर यस्तो कपडा लगाउँदा उनको शरीरको उभार हेर्न चाहनेहरूलाई समस्या हुन्थ्यो।

भारतको हरियाणामा हुर्किएकी विनेश जब सलवार कुर्ताको साटो चुस्त कपडा लगाएर कुस्तीको अभ्यास गर्न जान्थिन् तब केटी भएर यस्ता कपडा लगाएर घर बाहिर निस्कने भन्दै आलोचना हुन्थ्यो।

महिलाले खेल खेल्दा पनि उसको शरीर छापिएकै होस् र कुस्तीको अखडामा पनि उ परम्परागत महिला जस्तै देखियोस् भन्ने इच्छा देखिन्थ्यो। यदि केहीको माग चल्थ्यो भने उनीहरू कुस्तीको मैदानमा उत्रिने महिला खेलाडीलाई घुँघट लगाएर कुस्ती खेलाउँथे।

विनेशको कुरा उनको गाउँ अनि १५ वर्ष पुरानो हो। तर अहिले पनि महिलाको खेल कौशलमाथि उनीहरूले खेल खेल्दा लगाउने पोसाक हाबी हुने गरेको छ।

अहिले जापानको टोकियोमा चलिरहेको ओलम्पिकमा पनि आफूलाई सहज हुने कपडाबारे विवाद चलिरहेको छ। जर्मनको महिला जिमनास्टिक टिमले थाई देखिने कपडा लियोटार्डको सा६ पुरै शरीर ढाकिने युनिटार्ड लगाउने निर्णय गरे।

उनीहरूले शरीर ढाक्ने कपडा लगाउँदा आफूलाई सहज हुने तर्क गर्दै जसरी पुरुष खेलाडीलाई झैँ कपडा छनौटको अधिकार हुनुपर्ने माग राखे।

अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा महिला खेलाडीहरूको पोसाक प्राय छोटो र समस्या पार्ने खालका हुन्छन्। तर पुरुषको कपडा भने शरीरलाई आकर्षक देखाउने त्यस्तो कुनै नियम हुन्न। उनीहरूलाई सबै ध्यान खेलमा लगाउने छुट हुन्छ।

अहिलेसम्म यस्ता विवाद भएको छैन। तर कोही महिला खेलाडी स्कर्टको साटो पुरुष झैँ लामो साँट्स लगाएर टेनिस खेल्न आइन् भने कस्तो प्रतिक्रिया आउँला ?

खेलको नियम बनाउने अनि बजारले महिलाको शरीरलाई पनि खेल जत्तिकै महत्त्व दिने गरेको छ। महिला खेल त खेलुन् तर उनीहरूको शरीर आकर्षक देखियोस् भन्ने उनीहरूको चाहना हुने गरेको देखिन्छ।

मर्द दुनियाँमा आकर्षक महिला

खेलको दुनियाँलाई प्राय मर्दको दुनियाँको रूपमा हेरिन्छ। जसरी महिलालाई कोमल सम्झिन्छ त्यो भन्दा फरक छ खेल दुनियाँ। पसिनाले चुर्लुम्म डुबेर कठोर शरीर अभ्यास हुन्छ खेल दुनियाँमा। यस्तो दुनियाँमा पनि महिला आकर्षक देखिइरहुन् भन्ने इच्छा राखिन्छ। अचम्म के भने यदि कुनै महिला खेलाडी आकर्षक देखिइन् भने खेल भाँडेको आरोप पनि उनीमाथि नै लाग्छ।

भारतीय खेलाडी विनेशको दिदी गीताले केही वर्ष अगाडि एक अन्तर्वार्तामा भनेकी थिइन्' खेलको प्रारम्भिक समयमा उनका परिचितहरू उनीबाट कुनै चुक होस् वा कुनै केटा साथी बनोस् अनि उनको परिवारलाई छोरीलाई छुट दिँदाको परिणाम देख्यौ भन्दै आलोचना गर्ने मौकाको प्रतीक्षामा हुन्थे।' कुनै महिलाले खेल खेल्यो अनि अझ त्यसमा झन् आकर्षक पनि देखियो भने चरित्रहीन हुन सक्थिन्।

यो रोग जाँदैन

भारतीय महिला क्रिकेट टिमकी कप्तान मिताली राजले सन् २०१७ मा जब बाहुला नभएको टप लगाएर आफ्नो सेल्फी ट्विट गरिन् त्यो बेला उनको आलोचना गर्नेहरू कम देखिएनन्। उनलाई सामाजिक सञ्जालमा ट्रोलै गरियो नै मिडियामा छापिएका समाचारका हेडलाइनमा पनि पोर्न स्टार, इन्डिसेन्ट, एक्सप्लोसिभ जस्ता शब्दको प्रयोग भयो।

'मिताली राज ट्रोल्ड: आर यु अ पोर्न स्टार? ट्विटर शेम् हर,कोइश्चन्स ड्रेस सेन्स।'

'इन्डियन क्याप्टेन मिताली राज ट्रोल्ड अन ट्विटर फर हर इनडिसेन्ट ड्रेसिङ'

'मिताली राज वेयर्स एक्सप्लोसिभ ड्रेस एन्ड गेट्स ट्रोल्ड'

खेलको मर्दाना दुनियाँमा मोर्डन र फरवार्ड हुँदा यस्तो व्यवहार महिला खेलाडीप्रति नै गरिन्छ। उनीहरूकै कपडामाथि प्रश्न उठाइन्छ, खेलको मैदान बाहिर होस् या मैदानमा।

१८ वर्षको उमेरमा टेनिसको दुनियाँमा भारतको नाम उच्च बनाउने सानिया मिर्जा पनि टेनिस कोर्टमा लगाएको कपडाका कारण विवादमा आएकी थिइन्। २००५ मा सुन्नी उलेमा बोर्डका एक मौलानाले उनलाई अभद्र कपडा लगाएर खेलेको भन्दै त्यसले नौजवान केटाहरूमा खराब असर पर्ने बताएका थिए।

उनले फतवा जारी गरेर भनेका थिए कि इस्लाममा महिलालाई छोटो कपडा लगाउने अनुमति छैन। यसबारे उनले कुनै प्रतिक्रिया त दिइनन् तर आफूले लगाउने कपडाबारे बहस हुँदा आफूलाई नराम्रो लाग्ने बताएकी थिइन्।

कहिले धर्म त कहिले समाज त कहिले बजारले महिला खेलाडीलाई दिक्क त बनाउँछन् नै। महिला खेलाडीको शरीरबाट आँखा नै हट्दैन।

सेक्सिजम र हिंसाको सम्बन्ध

सुरक्षित मानिने तालिम अनि प्रशिक्षकबाट हुने यौन दुर्व्यवहारको घटना सामान्य विषय हुन्। तर आवाज उठाउन निकै कठिन। सँगै लामो मेहनत गरेर हात लाग्न लागेको अवसर गुमाउने जोखिम उस्तै। महिला खेलाडीलाई उनको आकर्षणमा जोड दिने प्रवृत्ति र यो हिंसाविच सम्बन्ध छ नै।

जर्मन जिमनास्टिक्स टिमले टोकियो ओलम्पिक अगाडि अप्रिलमा युरोपियन आर्टिस्टिक जिमनास्टिक्स च्याम्पियनसिपमा पहिलो पटक युनिटर्न लगाएर विरोध जनाएका थिए।जर्मन फेडरेशनले जिमनास्टिक्समा महिलाको सेक्सुलाइजेशन र यौन हिंसा रोक्नका लागि यो जरुरी भएको बताएको थियो।

जिमनास्टिक्सको दुनियाँमा हिंसाको ताजा उदाहरण अमेरिकी महिला टिमका डाक्टर रहेका लैरी नासरको हो। उनीमाथि एक सय ५० जना महिला खेलाडीले यौन उत्पीडनको आरोप लगाएका थिए। उनी दोषी ठहर भएर एक सय ७५ वर्ष जेल सजाय भइसकेको छ।

तर सेक्सिट सोच र संस्कृति बदल्न यति सजिलो छैन। पछिल्लो हप्ता नर्वेका महिला वीच ह्यान्डबल टिमले बिकिनी शट्स लगाएर खेल खेल्न अस्वीकार गरेपछि कपडा सम्बन्धी नियम उलङ्घन गरेकोमा जरिवाना तिर्नुपर्यो।

तर अमेरिकी पप स्टार पिंकले उनीहरूको जरिवाना आफू तिर्न तयार रहेको सार्वजनिक गरे। उनले ट्विट गरेर जरिवाना त सेक्सिस्ट नियम बनाउने फेडरेशनका अधिकारीमाथि लगाउनुपर्छ भन्दै लेखे' मलाई नर्वे महिला टिममाथि गर्व छ। अगाडि बढ।'

तर अगाडि बढ भन्ने नारामा बाँच्न अझै धेरै लडाई बाँकी छ।

-बिबिसीहिन्दीबाट

साउन १८, २०७८ सोमबार ०६:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।