ओलम्पिक पदक तालिकामा चीनको अग्रता कायमै

काठमाडौं : टोकियो ओलम्पिकको पदक तालिकामा चीनले अग्रता कायमै गरेको छ।
ओलम्पिक्सडटकमका अनुसार आज (आइतबार) राति ९ः०० बजेसम्म (नेपाली समय अनुसार) चीनले २४ स्वर्णसहित कुल ५१ पदक जितेको छ। उसलाई अमेरिकाले पछ्याइरहेको छ। अमेरिकाले २० स्वर्णसहित कुल ५९ पदक जितेको छ।
पदक तालिकाको तेस्रो स्थानमा जापान छ। उसले १७ स्वर्णसहित कुल ३१ पदक जितेको छ।
अहिलेसम्म ७६ देशले पदक जितेका छन्। तीमध्ये स्वर्ण पदक जित्ने देशको संख्या ५३ देश छ। यस्तै, ९ देशले कास्य पदक मात्रै जित्न सकेका छन्।
दक्षिण एसियाबाट भारतले मात्रै पदक जित्न सकेको छ। उसले अहिलेसम्म १ रजत र १ कास्य गरी २ पदक मात्रै जितेको छ।
नेपाल भने ओलम्पिकमा सहभागी कुनै प्रतियाेगितामा दाेस्राे चरणमा पुग्न सकेन।
नेपालले जुडाे (महिलातर्फ)काे ४८ केजी ताैल समूह, सुटिङको सय मिटर एयर राइफल (महिलातर्फ), पौडीको सय मिटर फ्रिस्टाइल (पुरुष र महिलातर्फ) र दौड सय मिटर (महिलातर्फ) गरी चार खेलमा सहभागिता जनाएको थियो। नेपालबाट पाँच खेलाडीले ओलम्पिकमा सहभागिता जनाएका थिए।
साउन १७, २०७८ आइतबार २१:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।