कर्णाली नदीमा बेपत्ता दम्पती अझै भेटिएनन्

कर्णाली नदीमा बेपत्ता दम्पती अझै भेटिएनन्
नदीमा बेपत्ता दम्पतीकाे खाेजी गरिँदै।

धनगढी : गत शुक्रबार दिउँसो गाडीसहित कर्णाली नदीमा खसेर बेपत्ता भएका डडेलधुराका दम्पती अझै फेला परेका छैनन्।

डडेलधुराको भागेश्वर गाउँपालिकास्थित बगरकोट स्थायी घर भई डोटीको आदर्श गाउँपालिकामा बस्दै आएका चन्द्रप्रसाद जोशी र पत्नी रूपी जोशी अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए। उनका अनुसार उनीहरूको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीको गोताखोरको टोली खटिएको छ। 

‘क्षतविक्षत अवस्थामा गाडी भेटिएको छ। पानीको तीव्र बहाव र दुर्घटनास्थल अत्यन्त जोखिमपूर्ण स्थानमा रहेकाले जोशी दम्पतीको अवस्था पत्ता लगाउन कठिनाइ भइरहेको छ,’ उनले भने, ‘गाडीभित्र पनि उनीहरू भेटिएनन्। बगेर गएको हुनसक्ने आशंका छ, खोजी जारी राखेका छौं।’

गाडीमा सवार जोशी दम्पतीका दुई छोरी र एक छोरा गाडीबाट उछिट्टिएर भीरमा खसेको अवस्थामा भेटिएको उनले बताए। गम्भीर घाइते रहेका उनीहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। 

उपचारका लागि सपरिवार कैलाली आएका उनीहरू घुम्नका लागि कैलालीको चिसापानी हुँदै कुइने गइरहेका थिए। तर, बाटोमा अवरोध देखेपछि फर्किन गाडी घुमाउँदै गर्दा गाडी कर्णालीमा खसेको प्रहरीले जनाएकाे छ। 

साउन १७, २०७८ आइतबार २०:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।