लुम्बिनी प्रदेश : पदमुक्त भएका जसपाका तीन सांसद पुनर्बहालीको माग गर्दै सर्वाेच्चमा 

लुम्बिनी प्रदेश : पदमुक्त भएका जसपाका तीन सांसद पुनर्बहालीको माग गर्दै सर्वाेच्चमा 

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को कारबाहीपछि पदमुक्त भएका लुम्बिनीका तीन प्रदेश सांसदले पुनर्बहालीको माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। 

नेकपा एमाले नेतृत्वको सरकारमा सहभागी भएपछि पदमुक्त भएका प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डे, कल्पना पाण्डे र विजयबहादुर यादवले आज (आइतबार) सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन्। उनीहरू गत शुक्रबार पदमुक्त भएका थिए। 

सर्वाेच्चले उक्त रिटको पेसी आगामी मंगलबार तोकेको छ। 

पार्टी निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै जसपाले यसअघि पनि उनीहरूलाई कारबाहीस्वरूप पार्टी सदस्य नरहने गरी निष्कासन गरेको थियो। सोही अनुसार प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले वैशाख १६ गते उनीहरू पदमुक्त भएको जानकारी प्रदेश सभालाई गराएका थिए। 

तर, सर्वाेच्चले उनीहरूलाई पुनर्बहाली गरेको थियो। उक्त मुद्दा अहिले अदालतमा विचाराधीन छ। 

साउन १७, २०७८ आइतबार १९:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।