‘ए’ डिभिजन लिग फुटबल सर्याे, कात्तिक २९ मा सुरु हुने 

‘ए’ डिभिजन लिग फुटबल सर्याे, कात्तिक २९ मा सुरु हुने 
तस्बिर : एन्फा।

काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी कात्तिक २९ (नोभेम्बर १५) गतेबाट सुरु हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज (आइतबार) ‘ए’ डिभिजन क्लबसँग छलफल गरी लिगको नयाँ मिति तय गरेको हो। यसअघि एन्फाले असोज ३ गतेबाट लिग सुरु गर्ने जनाएको थियो।

आजकाे बैठकमा एन्फाका तर्फबाट महासचिव इन्द्रमान तुलाधर, सहायक महासचिव अरूणमान जोशी, लिग समितिका संयोजक विज्ञानराज शर्मा, लिग निर्देशक सञ्जीव मिश्र लगायतको उपस्थिति थियो।

अक्टुबरको पहिलो साता साफ च्याम्पियनसिप आयोजना हुने भएकाले लिग पछाडि सारिएको एन्फाले जनाएको छ। 

पुरस्कार राशि बढाइयो 

लिगको पुरस्कार राशि पनि बढाइएको छ, जसअनुसार लिग विजेताले ७५ लाख रूपैयाँ पुरस्कार पाउने छन्। यसअघि लिग विजेताले ५० लाख रूपैयाँ पाउने गरेका थिए। 

यस्तै, उपविजेताले ५० लाख र तेस्रो हुनेले २५ लाख रूपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ। 

साउन १७, २०७८ आइतबार १८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।