सुदूरपश्चिमका मुख्यमन्त्री भट्टसहित १३ जनाद्वारा सर्वोच्चमा जवाफ पेस

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टसहित १३ जनाद्वारा सर्वोच्चमा जवाफ पेस

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा मुख्यमन्त्री त्रिलोचन भट्टसहित १३ जनाले जवाफ पेस गरेका छन्। 

जवाफ पेस गर्नेमा मुख्यमन्त्री भट्टसहित आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाह, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनिता चौधरी र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामी छन्। 

यस्तै, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यान्त्री मनाकुमारी साउद, आर्थिक मामिला तथा योजना राज्यमन्त्री अर्चना गहतराज र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री मानबहादुर सुनारले सर्वोच्चलाई जवाफ बुझाएका छन्। 

जवाफ पेस गर्नेमा केही कर्मचारी पनि छन्। प्रदेश प्रमुख कार्यालयका सचिव ओमबहादुर खड्का र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रामकृष्ण सुवेदीले जवाफ बुझाएका हुन्। 

मुख्यमन्त्री त्रिलोचन भट्टले गत असार २० मा सर्वोच्चमा ६ बुँदे जवाफ पत्र पेस गरेका हुन्। उनले जवाफमा सजीव र निर्जीव वस्तुसँग सुदूरपश्चिम प्रदेश सरकारलाई तुलना गरेका छन्। साथै उनले मुद्दा खारेजीको समेत माग गरेका छन्।

आर्थिक मामिला तथा योजना राज्यमन्त्री अर्चना गहतराजले भने मन्त्रीको रूपमा जवाफ पेस गरेकी छन्। उनले निवेदन जवाफ प्रस्तुतकर्तामा अर्चना गहतराज मन्त्री लेखेकी छन्।

संविधानको धारा १६८ को उपधारा ९ विपरीत प्रदेश सरकारले सरकार पुनर्गठन गरेको भन्दै जेठ २७ मा कमलसिंह राना, सुरेश रोकाया र अधिवक्ता अपेक्षा निरौलाले रिट निवेदन दिएका थिए।

असार ६ गते दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको यो मुद्दाको पेसी आगामी सोमबारलाई तोकिएको छ।

जेठ १४ मा मुख्यमन्त्री भट्टले सरकार पुनर्गठन गरेका थिए। ७ सदस्यीय मन्त्रिमण्डलमा केहीको निरन्तरता र केही थप्दै ११ सदस्यीय मन्त्रिमण्डल तयार गरिएको थियो।

५३ जना सदस्य रहेको प्रदेशसभामा हाल ५२ जना मात्रै सांसद छन्। नेकपा माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहरा कारबाहीमा परेपछि सांसदबाट पदमुक्त भएका थिए।

साउन १४, २०७८ बिहीबार १९:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।