सेयरको भित्री कारोबारमा अर्थको चासो :  'सत्य, तथ्य यथार्थ' खुलाउन तीन दिने म्याद

सेयरको भित्री कारोबारमा अर्थको चासो :  'सत्य, तथ्य यथार्थ' खुलाउन तीन दिने म्याद

धितो पत्र बजारको नियामक संस्था बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना, सदस्य चन्द्र ढकाल र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सेयरको भित्री कारोबार गरेको समाचारका आधारमा मन्त्रालयले पत्र पठाएको हो।

ढुङ्गानाले छोरीको नाममा, ढकालको भाइको नाममा र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले श्रीमतीको नाममा सिमेन्टको सेयरको भित्री कारोबार गरेको समाचार हिमालखबरले सार्वजनिक गरेको थियो। समाचारलाई आधार बनाएर अर्थले 'सत्य, तथ्य यथार्थ' के हो सो बारे जानकारी गराउनु भन्दै पत्र पठाएको हो।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले साउन १३ मा बोर्डमा पठाएको पत्रमा सञ्चारमाध्यममा प्रकाशित बोर्डसँग सम्बन्धित समाचारमा ध्यानाकर्षण भएको  भन्दै'सञ्चारमाध्यममा आएका उक्त विषयवस्तुको सम्बन्धमा सत्य, तथ्य यथार्थता के हो, सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र मन्त्रालयमा उपलब्ध गराउन आदेशअनुसार अनुरोध गरिएको' उल्लेख छ।

हिमालखबरले ढुङ्गानाले व्यक्तिगत लाभका लागि पदीय मर्यादा विपरीत बुक बिल्डिङ विधि मार्फत धितो पत्र निष्कासनको तयारी गरिरहेको सर्वोत्तम सिमेन्टको ११ हजार ९९२ कित्ता शेयर छोरीको नाममा राखेको समाचार प्रकाशित गरेको थियो।

धितो पत्र निष्कासनका लागि तयारी गरिरहेको कम्पनीको शेयर प्राथमिक निष्कासन हुनु अगावै व्यक्तिगत प्रभावका आधारमा ढुङ्गानाले विदेशमा बसोबास गरिरहेकी छोरीको नाममा किनेका हुन्।

यसै गरी नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले स्वार्थ बाझिने गरी श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको १० हजार कित्ता सेयर किनेको समाचार प्रकाशित गरेको थियो। समाचार अनुसार आर्थिक वर्ष २०७६/७७ को बोनस शेयरपछि बोहराको नाममा रहेको शेयर सङ्ख्या ११ हजार ९१२ पुगेको छ।

यसै गरी नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा बोर्डका सदस्य चन्द्र ढकालले समेत सो सिमेन्टको सेयर भाइको नाममा किनेको खुलेको थियो। ढकालको भाइको नाममा एक लाख १९ हजार ११७ कित्ता शेयर रहेको खुलेको थियो।

यी दुवै जनाले बुक बिल्डिङ प्रक्रिया मार्फत ६० लाख साधारण शेयर निष्कासनको तयारी गरिरहेका वेला भित्री प्रशासनिक रूपमा आएको भित्री सूचनाको आधारमा सेयर किनेका थिए। सर्वोत्तमले प्रतिकित्ता ७५० मा शेयर बिक्रीका लागि प्रस्ताव गरेको छ। यो मूल्य बुक बिल्डिङको प्रक्रियापछि मात्रै तय हुनेछ।  सबै प्रक्रियाबारे जानकार रहने उनीहरूले २ सय हाराहारीमा सेयर किनेका थिए।

धितो पत्र ऐनको दफा ९१ मा ‘कुनै व्यक्तिले सार्वजनिक नभएका धितो पत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरूको आधारमा आफूले धितो पत्र कारोबार गरेमा वा अरूलाई धितो पत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरू कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितो पत्रको भित्री कारोबार गरेको मानिने’ उल्लेख छ।

साउन १४, २०७८ बिहीबार १२:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।