अपांगता भएकालाई घरमै पुगेर नागरिकता

हिँडडुल गर्न नसक्ने खालको शारीरिक अपांगता भई विविध कारणले नागरिकता नपाएकालाई सुर्खेत प्रशासन कार्यालयले घरमै पुगेर नागरिकता दिन थालेको हो।
बुधबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले वीरेन्द्रनगर–१० की रियाना बानुलाई उनको घरमै पुगेर नागरिकता दिएर सेवाको सुरुवात गरेका हुन्।
उनी गत वर्ष घरको छतबाट खसेर घाइते भएकी थिइन्। त्यसयता उनको कम्मरमुनिको भाग चल्दैन।
‘हामीले हिँडडुल गर्न नमिल्ने अपांगता भएकालाई घरमै पुगेर नागरिकता दिने अभियानलाई निरन्तरता दिन खोजेका छौं,’ प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘मनोबल बढोस् भनेर आज रियानालाई म आफै गएर नागरिकता प्रदान गरेको छु। नागरिकता पाउने अधिकारबाट वञ्चित हुन नदिन हामीलाई जानकारी आए अनुसार निरन्तरता दिने छौं।’
नागरिकता नलिएका अपांगता भएका व्यक्तिको बारेमा जानकारी पाएमा प्रशासनको टोली घरमै गएर नागरिकता दिने उनले बताए। जिल्लामा अपांगता भएका र तीमध्ये नागरिकता पाउन बाँकी रहेका व्यक्तिको तथ्यांक छैन।
जिल्लाको पश्चिम क्षेत्रका नागरिकलाई बाबियाचौर इलाका प्रशासन कार्यालयले यो सेवा उपलब्ध गराउने उनले बताए।
साउन १३, २०७८ बुधबार २१:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।