दार्चुला सामूहिक बलात्कार प्रकरण : कोठामा तीन दिनसम्म बलात्कार गरेको अभियोग लागेकालाई अदालतले दियो सफाइ

जिल्ला न्यायाधीश लोकजंग शाहको इजलासले सामूहिक बलात्कारको अभियोगमा शैल्यशिखर–९, गाँजरीका १९ वर्षीय सन्तोष महरलाई दोषी ठहर गरेको र नक्तडका २७ वर्षीय सुरेश विष्टलाई सफाइ दिएको अदालतका स्रेस्तेदार कौशल ज्ञवालीले जानकारी दिए।
‘सोमबार पेसी थियो, आज फैसला भएको हो,’ उनले भने, ‘त्यसमा एक जनाले सफाइ पाएका छन्, एक जनालाई दोषी ठहर गरिएको छ। पूर्णपाठ आउन बाँकी छ।’
फैसलाप्रति सरकारी वकिलले भने आपत्ति जनाएका छन्।
जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता लक्ष्मण खनालले अदालतको फैसला नियमसंगत नभएको बताए।
‘पीडितले प्रहरीलाई घटनाबारे जानकारी दिएर बोलाउँदा विष्ट घटनास्थलमै थिए। उनकै कोठामा तीन दिनसम्म पीडितमाथि जबरजस्ती करणी भएको प्रहरी प्रतिवेदनमा पनि उल्लेख छ। तर, फैसलाले उसैलाई न्याय दिएको छ, पूर्णपाठ आउनेबित्तिकै पुनरावेदन जाने तयारीमा छौं।’
गत पुस २८ गतेबाट तीन दिनसम्म किशोरीमाथि सामूहिक बलात्कार भएको थियो।
साउन १२, २०७८ मंगलबार १८:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।