इजरायल पठाइने कामदार छनौटका लागि आवेदन खुल्यो

दीर्घकालीन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनौटका लागि आवेदन आव्हान भएको वैदेशिक रोजगार विभागले जनाएको छ।
नेपाल सरकार र इजरायल सरकारबिच भएको श्रम सम्झौता अनुसार इजरायल जाने कामदारले विभागको वेब पोर्टलमा अनलाइन आवेदन दर्ता गर्नुपर्नेछ।
विभागले छनौट भएर इजरायल जाने सहायक कामदारको मासिक तलब लगभग १६ सय अमेरिकी डलर हुने जानकारी दिएको छ। कामदारको करार अवधि सुरुमा १ वर्षको हुनेछ। करार अवधि बढीमा ५ वर्षसम्म थप गर्न सकिने विभागले सूचना निकालेर जानकारी दिएको छ।
२५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन पाउनेछन्। कम्तीमा १० कक्षा उर्तिण गरी अ.न.मी वा सी.एम.ए.सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पुरा गरेको हुनुपर्ने योग्यता तोकिएको छ।
यस्तै १२ कक्षा वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ्ग सम्बन्धी कम्तीमा तीन महिनाको तालिम प्राप्त गरेकाले पनि आवेदन दिन पाउनेछन्।
तर, विगतमा इजरायल गएर काम नगरेको हुनुपर्नेछ। यस्तै बाबु, आमा, पति, पत्नी, छोरा छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्ने छ।
आवेदनका लागि विभागको वेब पोर्टलमा उपलब्ध फारम भर्नु पर्नेछ। अनलाइन प्रणालीमा दर्ता भएका दरखास्त स्वीकृत अस्वीकृत भएको मोबाइल नम्बर वा इमेलमा सूचना पठाइने विभागले जनाएको छ।
दरखास्त स्वीकृत भएका आवेदकलाई अंग्रेजी भाषाको लिखित परीक्षामा सहभागी हुने मिति, समय र स्थान इमेल वा मोबाइल नम्बरमा जानकारी गराइने विभागको सूचनामा उल्लेख छ।
साउन १२, २०७८ मंगलबार ०९:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।