एकदिवसीय क्रिकेट : वेस्ट इन्डिजसँग अस्ट्रेलिया पराजित

काठमाडौं : एकदिवसीय क्रिकेट शृंखलाको दोस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजले अस्ट्रेलियालाई पराजित गरेको छ।
ब्रिजटाउनमा आइतबार बिहान भएको खेलमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई ४ विकेटले पराजित गरेको हो।
अस्ट्रेलियाले दिएको १ सय ८८ रनको लक्ष्य वेस्ट इन्डिजले ३८ ओभरमा ६ विकेट गुमाएर बनाएर पूरा गर्यो।
टोलीलाई जित दिलाउन निकोलस पुरनले अविजित रहँदै ५९ रन बनाए। यस्तै, जासन होल्डरले ५२ रन बनाउँदा साई होपले ३८ रन जोडे।
बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले ३ तथा एडम जाम्पाले २ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४७.१ ओभरमा १ सय ८७ रन मात्रै बनाउन सक्यो।
टोलीका लागि वेस अगरले सर्वाधिक ४१ रन जोडेका थिए। यस्तै, म्याथ्यु वेड र एडम जाम्पाले समान ३६ रन बनाउँदा मिचेल स्टार्कले १९ रनको योगदान दिएका थिए।
बलिङमा वेस्ट इन्डिजका अकिल हुसेन र अल्जारी जोसेफले समान ३ विकेट लिए। सेल्ड्रोन कोट्रेलको नाममा भने २ विकेट रह्यो।
जितसँगै वेस्ट इन्डिजले तीन खेलको शृंखलामा १–१ को बराबरी गरेको छ।
यसअघि पहिलो खेलमा अस्ट्रेलिया डकवर्थ लुइस नियमका आधारमा १ सय ३३ रनले विजयी भएको थियो।
शृंखलाअन्तर्गतको अन्तिम खेल सोमबार हुनेछ।
एजेन्सी
साउन १०, २०७८ आइतबार ०९:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।