धनगढीमा स्थानीय र प्रहरीबीच झडप, १० प्रहरी घाइते

झडपमा परी नेपाल प्रहरीका जवान ४ जना र सशस्त्र प्रहरी बलका ६ जना गरी १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।
उपमहानगरपालिका–३ को हाटबजार, विद्युत कार्यालय लगायतका क्षेत्रमा जमेको पानी निकास गर्न कल्भर्ट खोल्दा वडा नम्बर २ का स्थानीयसँग प्रहरीको झडप भएको हो।
सो क्रममा प्रहरीमाथि ढुंगामुढा भएपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको प्रहरी कार्यालय, कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतीक विष्टले बताए।
वडा नम्बर २ डुबानमा पर्ने भन्दै त्यहाँका स्थानीयले कल्भर्टमा पानी बन्द गरेका थिए। पानी निकास नहुँदा वडा नम्बर ३ डुबानमा पर्ने गरेको थियो।
पानी धेरै जमेर विद्युत गृहमा नै क्षति हुन थालेपछि बल प्रयोग गर्नुपरेको प्रहरीको दाबी छ।
साउन ५, २०७८ मंगलबार १९:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।