रूपन्देहीको तिलोत्तमा नगरमा अनलाइन प्रणालीबाट राजस्व भुक्तानी सुरु 

रूपन्देहीको तिलोत्तमा नगरमा अनलाइन प्रणालीबाट राजस्व भुक्तानी सुरु 

नगरपालिकाले सुरु गरेको डिजिटल प्रविधिको मंगलबार एक समारोहबीच नगर प्रमुख वाशुदेव घिमिरेले शुभारम्भ गरे। 

नगरपालिकाले सम्पत्ति कर, घर बहाल कर, व्यवसाय करलगायतका राजस्वलाई जुनसुकै ठाउँबाट पनि अनलाइनबाटै तिर्न सक्ने व्यवस्था मिलाएको हो। 

योसँगै स्थानीय तहलाई बुझाउनु पर्ने राजस्व तिर्न कार्यालय धाउनु नपर्ने भएको छ। राजस्व तिर्नका लागि लाइन लाग्नुपर्ने पद्धतिको अन्त्य गर्न नगरपालिकाले अनलाइनबाटै राजस्व तिर्न मिल्ने व्यवस्था मिलाएको नगर प्रमुख घिमिरेले बताए।

कर तिर्न लाइन बस्नैपर्ने परम्परागत शैलीलाई प्रविधिले प्रतिस्थापन गर्दा करदातालाई सहज हुने उनको भनाइ छ। अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक कति राजस्व संकलन भयो भन्ने थाहा पाउनसमेत सहज हुनेछ। यसबाट कुन क्षेत्रमा के–कति कर उठाउन बाँकी छ भन्ने तथ्यांक पनि आउने र यसले योजना निर्माणलाई पनि सहज बनाउने नगरपालिकाको विश्वास छ।

करदाताले कर तिर्न इ–पोर्टलमा विवरण भरेर दर्ता गर्नुपर्छ। त्यसपछि इ–सेवा र खल्ती डिजिटल भुक्तानी प्रणाली प्रयोग गरेर मोबाइलबाटै कर भुक्तानी गर्न सकिने छ। 

यो प्रणालीबाट राजस्व अनलाइनबाटै भुक्तानी गर्न र आफूले तिरेको शुल्कको रसिद अनलाइनबाटै प्राप्त गर्न सकिनेछ। यो प्रणाली सुरु गर्न करदाता पहिलो एक पटक वडा कार्यालमा गएर विवरण अद्यावधिक गराउनुपर्छ। त्यसपछि घरमै बसेर सेवा लिन सकिनेछ।

सहभागितामूलक र पारदर्शी राजस्व प्रणाली विकास गर्दै जान सुरु गरिएको प्रणालीले स्मार्ट नगरको एउटा सूचक पूरा गर्ने प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलको भनाइ छ। उनले  नगरपालिका करदाताप्रति उत्तरदायी छ भन्ने कुरा अनुभूति गराउने गरी अनलाइन राजस्व सुरु गरिएको र यसले सुशासनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे। अनलाइन भुक्तानीबाट करदाताको डाटाबेस तयार हुने र आउँदा वर्षका लागि राजस्व अनुमानलाई वास्तविक बनाउने उनको भनाइ छ। 

करदाताको विवरण इ–पोर्टलमा दर्ता गरिसकेपछि आन्तरिक संकेत र करदाता कोड प्राप्त हुन्छ। यहीँ कोडका आधारमा पछिल्लो पटक मोबाइलबाटै कर तथा दस्तुर तिर्न मिल्छ। यस प्रणालीमा दुई वटा पोर्टल छन्। एउटा पब्लिक र अर्को कोर। पब्लिक पोर्टल करदाताका लागि हो भने कोर पोर्टल कार्यालयमा बस्ने अधिकारीका लागि हो। पब्लिक पोर्टलमा करदाताले आफू सम्बन्धित घर–जग्गा, सम्पत्ति, व्यवसाय जस्ता व्यक्तिगत विवरण हुन्छन्। यस पोर्टलबाट नगरले उठाउने सम्पूर्ण कर र दस्तुरको दर थाहा पाउन सकिन्छ।

पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्नका लागि हुन्। यसमा करदाताले नगरलाई बुझाउनु पर्ने करको प्रारम्भिक मूल्यांकन करदाता आफैले घरमै बसेर गर्न सक्ने सुविधा छ। करदातासँग सम्बन्धित र सोधिएका/माग गरिएका विवरण भरेपछि प्रणालीले करको प्रारम्भिक मूल्यांकन गरेर तिर्नुपर्ने राजस्वको अंक देखाउँछ।

यसबाट नगरलाई तिर्नुपर्ने रकमबाट करदातालाई जानकारी हुने नगरपालिकाका सूचना प्रविधि अधिकृत सुदीप ढकालले जानकारी दिए। 

करदाताको विवरण पेस भएपछि कर मूल्यांकन अधिकृतले प्रचलित कानुन र दररेटका आधारमा स्वचालित प्रणालीबाट तयार भएको कर विवरणलाई रुजु र स्वीकृत गर्ने छन्। त्यसपछि करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणालीबाट भुक्तानी गर्न सक्ने छन्। यसरी भुक्तानी गरिएको रकमसम्बन्धी सूचना एसएमएसबाट पनि प्राप्त हुनेछ।

यसैबीच, तिलोत्तमा नगरपालिकाले मंगलबार नै सेवाप्रवाहसम्बन्धी विभिन्न सफ्टवेयर तथा एप्लिकेसन सार्वजनिक गरेको छ।

नगरपालिकाले अनलाइन राजस्वसहित इ–पेमेन्ट, अनलाइन सिफारिस, कर्मचारी व्यवस्थापन अनुगमन तथा मूल्यांकन सिस्टम, टुरिजम एप, सम्पूर्ण सामुदायिक विद्यालयमा मोबाइल एप्लिकेसन, हेल्लो मेयर सिस्टम, डकुमेन्ट व्यवस्थापन सिस्टम, नगरपालिका मोबाइल एप, सेन्ट्रलाइज्ड सिस्टम लन्चिङ गरेको हो। 

साउन ५, २०७८ मंगलबार १८:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।