भैरहवा भन्सारद्वारा तीन वर्षपछि लक्ष्य अनुसारको राजस्व असुली
भैरहवा : भैरहवा भन्सार कार्यालयले तीन वर्षपछि लक्ष्य अनुसार राजस्व संकलन गरेको छ।
पछिल्लो तीन वर्षदेखि लक्ष्य अनुसारको राजस्व असुलीमा असफल हुँदै आएको भन्सार कार्यालयले गत आर्थिक वर्षमा असुली लक्ष्य पार गरेको हो।
आर्थिक वर्ष २०७७/०७८ को असार ३० गते सम्ममा ११२.५४ प्रतिशत राजस्व असुली गरिएको कार्यालयले जनाएको छ। यो वार्षिक लक्ष्यभन्दा १२.५४ प्रतिशत बढी हो।
यसअघिका तीन वर्षमा भन्सार विभागबाट राजस्व संकलनको लक्ष्य बढी तोकिनु र राजस्वका स्रोत घट्दै जानुले लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको कार्यालयले जनाएको छ।
तत्कालीन समयमा छोटी भन्सारलाई पनि मुल भन्सार सरह कायम गरेकाले पनि लक्ष्य अनुसारको राजस्व संकलनमा असर परेको कार्यालयले दाबी छ।
भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७२/०७३ मा ५२ अर्ब ९४ करोड १२ लाख ५७ हजार रूपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा ६१ अर्ब ९१ करोड २२ लाख ८१ हजार रूपैयाँ असुली गरेको थियो, जुन ११७ प्रतिशत हो।
भारतीय नाकाबन्दीको कारण मुलुकको अन्य नाका ठप्प हुँदा भैरहवा भन्सार कार्यालय भएर मात्र सामान नेपाल भित्रिएपछि त्यस वर्ष लक्ष्यभन्दा बढी राजस्व असुली भएको कार्यालयले जनाएको छ।
यसको प्रभाव आर्थिक वर्ष २०७३/०७४ मा पनि देखियो। सो वर्ष कार्यालयले १०९ प्रतिशत राजस्व असुली गर्याे।
त्यसपछिका लगातार तीन वर्ष भने कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेन।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ८१ अर्ब ४३ करोड ७७ लाख ९२ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकिएकोमा ८६ प्रतिशत मात्र अर्थात ७० अर्ब २८ करोड ९३ लाख ५ हजार रूपैयाँ राजस्व असुली भएको थियो।
यसैगरी, आर्थिक बर्ष २०७५/०७६ मा पनि कार्यालयले ९३ अर्ब ९५ करोड ९७ लाख ७३ हजार असुलीको लक्ष्य पाएकोमा ८८ प्रतिशत अर्थात् ८२ करोड ३० लाख ५३ लाख ३३ हजार रूपैयाँ मात्र असुल गर्न सकेको थियो। सबैभन्दा कम राजस्व आर्थिक वर्ष २०७६/०७७ मा असुल भएको थियो।
सो आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा बढी १ खर्ब ६ अर्ब ८८ लाख ८६ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकिएकोमा कार्यालयले ६६ प्रतिशत अर्थात ७० अर्ब २९ करोड १५ लाख ९७ हजार रूपैयाँ मात्र असुली गरेको थियो।
०००
चालू आर्थिक वर्षमा आर्थिक क्रियाकलाप बढेको र आयातमा वृद्धि भएकाले लक्ष्यभन्दा बढी राजस्व असुल भएको पौडेलले बताए।
कोरोना भाइरस संक्रमणको प्रभाव परेर अन्य क्षेत्र बन्द भए पनि भैरहवा भन्सार कार्यालय बन्द नहुँदा पनि यसले राजस्व असुली वृद्धिमा प्रभाव पारेको हो।
चालु आर्थिक वर्षमा सबैभन्दा बढी राजस्व भैरहवा भन्सार कार्यालयले मोटरसाइकल आयातबाट असुल गरेको छ।
आर्थिक वर्ष २०७७/०७८ मा भैरहवा भन्सार हुँदै १८ अर्ब ९८ करोड ५३ लाख २१ हजार मूल्य बराबरको १ लाख ९६ हजार ७ सय २४ वटा मोटरसाइकलबाट १८ अर्ब ६० करोड ३८ लाख ९९ हजार रूपैयाँ राजस्व असुल गरेको छ।
यस्तै, एमएस विलेटबाट ५ अर्ब २८ करोड ३७ लाख ४ हजार रूपैयाँ र ग्लेज टाइलबाट २ अर्ब ८७ करोड ४४ लाख ५० हजार रूपैयाँ राजस्व असुल भएको छ।
भारतबाट नेपालतर्फ विशेष गरी मोटरसाइकल, एमएस बिलेटबाहेक जिप, कार र भ्यान हाइस्पिड डिजल, ग्लेज टाइल, सिंगल तथा डबल क्याब पिकअप गाडी, ट्रक, मिनी ट्रक, एवं पेट्रोल लगायतका वस्तु आयात हुने गरेका छन्।
भैरहवा भन्सार कार्यालय निर्यात लक्षित भन्सार नरहेको कारण यहाँबाट न्यूनरूपमा निर्यात हुने गरेको छ। विशेष गरी कृषिजन्य उत्पादनमा भटमासको तेल सबैभन्दा बढी निर्यात हुने गरेको छ।
चालु आर्थिक वर्षमा १ अर्ब ६८ करोड ६६ लाख ६७ हजार मूल्य बराबरको ९२ लाख ४६ हजार ४ सय ६५ केजी निर्यात गरी ४९ हजार राजस्व असुली गरेको छ।
यस्तै, सेन्थेटिक यार्नबाट ४७ हजार, पिना अन्यबाट ५७ लाख ४९ हजार रूपैयाँ असुल गरेको छ।
भैरहवा भन्सार हुँदै विशेष गरी स्टिलका भाँडाकुँडा, चोकर, भुस, जडीबुटी, खोटो रोजिन, बोरा झोला अन्य कपडा पदार्थ, प्लास्टिकको नली पाइप, रेसाको कपडा लगायतका वस्तु निर्यात हुने गरेका छन्।
साउन ४, २०७८ सोमबार १५:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।