कर्णाली प्रदेश : बजेटसम्बन्धी दुई वटा अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस

कर्णाली प्रदेश : बजेटसम्बन्धी दुई वटा अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस

सुर्खेत : कर्णाली प्रदेश सरकारले बजेटसम्बन्धी दुई वटा अध्यादेश जारी गर्न प्रदेश प्रमुख गाेविन्दप्रसाद कलाैनीलाई सिफारिस गरेको छ।

प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले कर्णाली प्रदेश विनियोजन अध्यादेश २०७८ र कर्णाली प्रदेश आर्थिक अध्यादेश २०७८ जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको हो। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर बैठक अवरुद्ध गर्दै आएपछि प्रदेश सरकारको सिफारिसमा बुधबार राति १२ बजेदेखि लागू हुनेगरी प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको थियो।

बजेट अधिवेशन अन्त्य भएसँगै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि अध्यादेशबाट बजेट ल्याउन थालेको हो।

संसदबाटै बजेट पास गराउन सरकारले गरेको प्रयासमा प्रतिपक्ष सहमत नभएपछि अध्यादेशको बाटो रोजेको सरकारकी प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सीताकुमारी नेपालीले बताइन्।

एमालेले प्रदेश सभामा बजेट प्रस्तुत भएयता १० पटक बैठक अवरुद्ध गरेको थियो। 

पार्टीबाट प्रतिनिधित्व गर्ने भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापा, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही सरकारबाट फिर्ता हुनुपर्ने भन्दै एमालेले संसद् अवरुद्ध गरेको थियो। 

यता कर्णाली प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउन थालेकोप्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध जनाएको छ । 

एमालेले पेश्की बजेट ल्याउन सहमति दिँदादिँदै पनि रातारात संसदको बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याइनुलाई असंवैधानिक कदम भनेको छ।

‘सर्वोच्च अदालतले संसद पुनर्बहाली गरेको पार्टीका सांसदलाई मन्त्री पदबाट मुक्त गर्न र संविधान र कानुन अनुसार सरकार गठन गर्न माग गर्दै संसदमा आफ्ना कुरा राखिरहेका थियौं,’ संसदीय दलका नेता यामलाल कँडेलले भने, ‘यति हुँदा संसदलाई कामविहिन बनाएर अध्यादेश मार्फत बजेट ल्याउनु गलत हो।’

उनले कर्णाली प्रदेश सरकार जनादेशबाट आत्तिएर अध्यादेशमार्फत चल्न खोजेको आरोप लगाए।

असार ३१, २०७८ बिहीबार २०:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।