लुम्बिनी प्रदेशसभा : स्थगित बैठक सुरु हुनुअगावै प्रदेश सभा भवनबाटै बाहिरिए मुख्यमन्त्री

बुटवल : आधा घण्टाका लागि स्थगित भएको लुम्बिनी प्रदेश सभा बैठक सुरु हुनुअगावै मुख्यमन्त्री शंकर पोखरेल प्रदेश सभा भवनबाटै बाहिरिएका छन्।
प्रदेश सभाको आजको बैठकमा प्रदेश बजेट निर्णयार्थ पेस गर्ने कार्यसूची थियो। तर, विपक्षी सांसद्ले अल्पमतको सरकारले ल्याएको बजेट पास नहुने भन्दै विरोध जनाएपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो।
सभामुख पूर्णबहादुर घर्तीले आज साढे ५ बजेका बैठक बोलाएका थिए।
यसअघि बैठकमा बजेटको छलफलका क्रममा उठेका प्रश्नको मन्त्रीले उत्तर दिएका थिए। मुख्यमन्त्री पोखरेलको जवाफी सम्बोधनपछि सत्ता पक्षका सांसद बैठक छाडेर बाहिरिएका थिए।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेको दाबी गर्दै विपक्षी गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेसँगै बजेट पारित नहुने देखेपछि सत्ता पक्षले सदन बहिस्कार गरेका हुन्।
असार ३१, २०७८ बिहीबार १८:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।