बजेट फेल हुने निश्चित भएपछि लुम्बिनीमा सत्ता पक्षले बहिस्कार गर्यो सदन

बुटवल : असार १ गते लुम्बिनी प्रदेश सभामा प्रस्तुत भएको बजेट पास हुन सकेको छैन।
विपक्षी दलका सांसदले अल्पमतको सरकारले ल्याएको बजेट पारित हुन नदिने बताइरहेका बेला सत्ता पक्षकै सांसद अनुपस्थित भएपछि आज पारित गर्ने भनिएको बजेट पास हुन नसकेको हो।
प्रदेश सभामा बजेटमाथि छलफल भइरहेका बेला सूर्य चिह्न लिएर चुनाव जितेका स्वतन्त्र सांसद अजय शाही बैठकमा उपस्थित भएनन्। बैठकमा सहभागी हुने भन्दै काठमाडौंबाट मंगलबार बुटवल आइपुगेका शाही अस्वस्थ भएको भन्दै पुनः बुधबार काठमाडौं फर्किएका छन्। उनी नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित भएका हुन्।
आफ्नै सांसद प्रदेश सभामा अनुपस्थित भएपछि लुम्बिनी प्रदेशको प्रदेश सभा बैठकबाट सत्ता पक्षका सांसद बाहिरिएका छन्। सत्ता पक्षका सांसद बाहिरिएपछि सदन आधा घण्टाका लागि रोकिएको छ।
सभामुख पूर्णबहादुर घर्तीले साढे ५ बजेसम्मका लागि सदन स्थगित गरेका हुन्। आजको कार्यसूची अनुसार प्रदेश सभामा बजेट निर्णयार्थ पेस हुनुअगावै मुख्यमन्त्री शंकर पोखरेलसहित सत्ता पक्षका सांसदले संसद बहिस्कार गरेपछि सदन रोकिएको हो।
यसअघि बैठकमा बजेटको छलफलका क्रममा उठेका प्रश्नको मन्त्रीले उत्तर दिएका थिए।
मुख्यमन्त्री पोखरेलको जवाफी सम्बोधनपछि सत्ता पक्षका सांसद बैठक छाडेर बाहिरिएका हुन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको दाबी गर्दै विपक्षी गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेका थिए।
८३ सदस्यीय प्रदेश सभामा अहिले नेकपा (एमाले)को पक्षमा तीन जना जसपाको महन्थ ठाकुर पक्षकासहित ४१ र विपक्षी गठबन्धनमा सभामुखसहित ४२ जना छन्।
असार ३१, २०७८ बिहीबार १८:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।