कोरोना खोप खरिद गर्न ५ अर्ब रुपैयाँ खर्च गर्ने सहमतिमा अर्थमन्त्रीको पहिलो हस्ताक्षर

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गर्दै ५ अर्ब रुपैयाँ कोरोना खोप खरिदका लागि खर्च गर्ने सहमतिमा हस्ताक्षर गरेका छन्।
सरकारको पहिलो प्राथमिकतामा रहेको कोरोनाको उपचार, रोकथाम र नियन्त्रणका लागि अर्थमन्त्रीले खोप खरिद गर्न ५ अर्ब रुपैयाँ सहमति दिनु भएको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले जानकारी दिए।
यस्तै अर्थमन्त्री शर्माले पूर्व सहमति अनुसार सङ्घीय अस्पतालमा कोरोनाको उपचारका लागि उपकरण खरिद गर्न सङ्घीय अस्पताललाई ९६ करोड १२ लाख ११ हजार रुपैयाँ दिने सहमतिमा हस्ताक्षर गरेका छन्।
यस्तै स्थानीय र प्रादेशिक अस्पताललाई ५२ करोड ४६ लाख ४० हजार रुपैयाँ दिने सहमतिमा हस्ताक्षर गरेका प्रवक्ता आचार्यले जनाकारी दिए।
यस्तै अर्थ मन्त्रालयले कोभिड बिरामीको निःशुल्क उपचार सम्बन्धी भुक्तानी दायित्व अन्तर्गतको रकम दिने सहमतिमा पनि अर्थमन्त्रीले हस्ताक्षर गरेका छन्।
भुक्तानी दायित्व अन्तर्गत सङ्घीयतर्फ ५६ करोड ४१ लाख ५७ हजार रुपैयाँ र स्थानीय तथा प्रदेशका लागि ३७ करोड २४ लाख ९० रुपैयाँको सहमतिमा अर्थमन्त्रीले हस्ताक्षर गरेको प्रवक्ता आचार्यले बताए।
असार ३०, २०७८ बुधबार १४:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।