कर्णाली सरकारले दियो कोरोना महामारीमा जाेखिममा खटिएकालाई ५० प्रतिशत जोखिम भत्ता

सुर्खेत : कर्णाली प्रदेश सरकारले कोरोना भाइरस संक्रमणको महामारीको जोखिममा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र सववाहन चालकलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराएको छ।
सामाजिक विकास मन्त्रालयले १० वटा जिल्ला अस्पताल, एक प्रदेश अस्पताल, स्वास्थ्य सेवा निर्देशनालय र प्रदेश आयुर्वेद औषधालयमा कार्यरत स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शववाहन र एम्बुलेन्स चालकलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराइएको जनाएको छ। यसका लागि मन्त्रालयले तीन करोड २७ लाख ८३ हजार ४ सय ८७ रूपैयाँ निकासा गरेको छ।
‘कोरोना महामारीमा खटिएका प्रदेशभरका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र एम्बुलेन्स तथा शव वाहन चालकलाई जोखिम भत्ता उपलब्ध गराउनका लागि तीन करोड रूपैयाँ निकासा दिइएको छ,’ सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले भने, ‘जोखिममा काम गरेका फ्रन्टलाइनरलाई सरकारले सधैं सम्मान र प्रोत्साहन गर्छ।’
मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीका अनुसार स्वास्थ्य सेवा निर्देशनालयमा कार्यरत स्वास्थ्यकर्मीका लागि चार लाख ८८ हजार ९ सय १० रूपैयाँ निकासा दिएको छ। यस्तै, प्रदेश अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहन चालकका लागि ३८ लाख ६१ हनार १ सय ५२ रूपैयाँ निकासा दिएको छ।
यस्तै, प्रदेश आयुर्वेद औषधालयलाई पाँच लाख ३३ हजार ९ सय ५०, जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतलाई २६ लाख २० हजार २ सय, मेहलकुना अस्पताललाई आठ लाख ९३ हजार २४, स्वास्थ्य सेवा कार्यालय सल्यानलाई ३५ लाख, स्वास्थ्य सेवा कार्यालय, जाजरकोटलाई २३ लाख ५५ हजार २ सय ९० र स्वास्थ्य सेवा कार्यालय, मुगुलाई ३१ लाख १९ हजार १ सय १६ रूपैयाँ निकासा दिइएको छ।
यसैगरी, स्वास्थ्य सेवा कार्यालय, दैलेखलाई ५३ लाख ३८ हजार १ सय ८०, स्वास्थ्य सेवा कार्यालय, रुकुम पश्चिमलाई १७ लाख ८ हजार ७ सय ७५, स्वास्थ्य सेवा कार्यालय, हुम्लालाई ३५ लाख ७ हजार ३ सय र स्वास्थ्य सेवा कार्यालय, डोल्पालाई १५ लाख ४ हजार ६ सय ८० रूपैयाँ निकासा दिइएको छ।
‘कोरोना महामारीमा खटिएका चिकित्सक स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शव वाहन चालकलाई प्रमाणित अभिलेखका आधारमा सुरु तलव स्केलको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराइएको हो,’ सचिव काप्रीले भने।
असार २८, २०७८ सोमबार १७:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।