वादी समुदायका दुई समूहबीच झडप

रमा वादी र मिठु वादी नेतृत्वकाे समूहबीच आज (आइतबार) मुख्यमन्त्री कार्यालयअघि झडप भएको हो।
रमा वादी नेतृत्वको समूहले वादी समुदायको नाममा विभिन्न कार्यक्रम गर्दै आर्थिक हिनामिना गरेको भन्दै मिठु वादी नेतृत्वको समूहले विरोध गरेपछि दुवै पक्षबीच हात हालाहाल भएको हो।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि वादी समुदायका लागि तीन करोड रकम विनियोजन गरेको छ। आइतबार वादी उत्थान समितिकी अध्यक्ष रमा वादी नेतृत्वको टोलीले मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए।
मिठु वादी नेतृत्वको समूहले भने आफूहरूलाई मुख्यमन्त्रीसँग भेट गर्न नदिएको आरोप लगाए।
झडपपछि वडा प्रहरी कार्यालय, धनगढीले हामी दुवै पक्षलाई मिलापत्र गराइसकेको वादी उत्थान समितिकी अध्यक्ष रमा वादीले बताइन्। उनले भनिन्, ‘आजबाट यो विषयमा झगडा गर्ने छैनौं। दुवै पक्ष मिलेर काम गर्नेछौं भनेर कागज भयो।’
जिल्ला प्रहरी कार्यालय, कैलालीले पनि दुवै पक्षले झगडा नगर्ने प्रतिवद्धता गरेर मिलापत्र गराइएको बताएको छ।
असार २७, २०७८ आइतबार १९:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।