सेप्टी ट्याङकीमा फेला पर्यो २६ वर्षिया सुजिताको शव, श्रीमान् हिरासतमा

काठमाडौँ : एक महिनादेखि हराइरहेकी सुजिता ठाकुरको शव सेप्टी टाङकीमा फेला परेको छ। केही दिन अगाडि खेतमा उनको शरीरको केही अङ्ग फेला परे पनि शरीर फेला परेको थिएन।
प्रहरीले आइतबार महोत्तरीको लोहरपट्टी नगरपालिका-७ भ्रमरपुराकी २६ वर्षीया ठाकुरको शव शौचालयको सेप्टिक ट्याङ्कमा फेला पारेको हो।
उनी जेठ १९ गतेबाट हराएकी थिइन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीले उनको हत्यामा संलग्न रहेको आरोपमा सुजिताका श्रीमान् मुकेश ठाकुर र देवर रुपेश ठाकुरलाई असार १३ गते पक्राउ गरिसकेको छ। उनका ससुरा पतिराम ठाकुर फरार छन्।
प्रहरीका अनुसार सुजिताको शव आफ्नै पेट्रोल पम्प नजिकको शौचालयको सेप्टिक ट्याङ्कमा भेटिएको हो। शव सुजिताकै भएको उनको माइत पक्षले सनाखत गरेका छन्।
एकाएक बेपत्ता भएपछि उनको माइत पक्षले प्रहरीमा निवेदन दिएपछि उनको खोजी सुरु भएको थियो। अनुसन्धानकोक्रममा स्थानीयले सुजिताको परिवारले खेतमा खाल्डो खनेको देखेको जानकारी दिएपछि असार १३ मा प्रहरीले धानको ब्याड राखेको खेतमा खन्दा सुजिताको कपाल र शरीरको केही भाग गलेको अवस्थामा फेला परेको थियो।
उनको शरीर भने फेला परेन। अनुसन्धानकोक्रममा सेप्टी टाङकीमा शव हालेको देखिएपछि आइतबार प्रहरीले ढकाल फुटाएर हेर्दा शव फेला परेको हो।
असार २७, २०७८ आइतबार १७:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।