वर्षाले भैरहवाको अधिकांश क्षेत्र डुवानमा 

वर्षाले भैरहवाको अधिकांश क्षेत्र डुवानमा 

भैरहवा : आइतबार बिहानदेखि परेको वर्षाका कारण रूपन्देही, भैरहवाको अधिकांश क्षेत्र डुवानमा परेको छ।

भैरहवाको बैंक रोड, गल्ला मण्डी, जनक पथ, गार्गी पथ, बैंक कलोनी, अन्नपूर्ण टोल लगायतका क्षेत्र पूर्णरूपमा डुवानमा परेका छन्। 

सडकमा पानी जमेपछि बैंक रोडमा पार्किङ गरी राखिएका गाडी डुवानमा परेका छन्। रूपन्देहीका अधिकांश सरकारी कार्यालय समेत डुवानमा परेका छन्। भैरहवाको भीम अस्पताल पनि डुवानमा परेको छ। 

बिहान दुई–अढाई घण्टा परेको पानीले भैरहवा डुवानमा परेको बैंक रोडका व्यावसायी रामकिसन बिकले बताए। कतिपय पसलमा पानीसमेत पसेको उनको भनाइ छ। 

‘बिहान २/३ घण्टा पानी पर्दा त भैरहवाका अधिकांश स्थानमा डुवानमा परेको छ,’ उनले भने, ‘यही गतिमा दिनभर पानी परे यहाँको अवस्था के होला ?’ 
बैंक रोडका अर्का व्यावसायी प्रविन शर्माले बिहानदेखि परेको पानीले सडकमा पानी जमेको बताए। 

प्रभावकारी ढल निकास निर्माण र नालाभन्दा होचो सडकका कारण भैरहवा डुवानमा परेको हो। 

सिद्धार्थनगर नगरपालिकाले एसियाली विकास बैंक (एडिबी)को सहयोगमा एकीकृत सहरी विकास आयोजना र क्षेत्रीय सहरी विकास योजनाअन्तर्गतको बनाएको ढल निकास गुणस्तरीय नहुँदा भैरहवा बर्सेनि डुवानमा पर्ने गरेको छ। 

आयोजनाअन्तर्गत सडकको दुवैतर्फ सडक सतह ढल, मध्यम ढल र मुख्य सतह ढल गरी तीन किसिमको ढल निर्माण गरेको छ। सडकमा जम्मा हुने पानीलाई सडक सतह ढल हुँदै मध्यम ढलमा लगिने र मध्यम ढलमा जाने पानीलाई मुख्य सतह ढल (ठूलो नाला) हुँदै नदीमा निकास गरिने योजना अनुसार तीन प्रकारका ढल निर्माण गरिएको थियो। तर, उक्त ढलबाट पानी निकास हुन सकेको छैन। 

यस्तै, पानी निकासका लागि बनाइएका कतिपय नाली नागबेली आकारका भएकाले भैरहवामा पानी सहजरूपमा निकास हुन नसकेकाे छैन। 

ढल निकास व्यवस्थापनमा नगरपालिकाले करोडाैं रकम खर्चिए पनि प्रभावकारी काम हुन नसक्दा नगरपालिका बर्सेनि डुबान पर्ने स्थानीयको आरोप छ। 

तर, सिद्धार्थनगर नगरपालिका यो आरोप स्वीकार्न तयार छैन। सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ इञ्जिनियर शैलेन्द्रप्रसाद श्रेष्ठले सामान्यतया १२५ मिलिलिटरभन्दा बढी पानी परेपछि सडक जलमग्न भएको बताए। 

नाला पुरिएकाले पानीको निकास नहुँदा सडकमा पानी जमेको उनको भनाइ छ। फोहोर फालेका कारण नाला पुरिएको उनले बताए। 

त्यस्तै भैरहवाको दक्षिणतर्फ रहेको ड्याम तत्काल नखोल्दा सडकमा पानी जम्ने गरेको उनको भनाइ छ।
 

असार २७, २०७८ आइतबार १६:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।