२८ वर्षपछि अर्जेन्टिना कोपा अमेरिका विजेता: मारियाको गोल निर्णायक

२८ वर्षपछि अर्जेन्टिना कोपा अमेरिका विजेता: मारियाको गोल निर्णायक

काठमाडौँ : खेलको पहिलो हाफ सकिँदा घरेलु टिम ब्राजिलविरुद्ध अर्जेन्टिनाले लिएको अग्रता नै आखिर कोपा अमेरिकाको फाइनलको निर्णायक गोल बन्यो।

अर्जेन्टिनाका लागि एन्जल डी मारियाले खेलको २२ मिनेटमा ब्राजिल विरुद्ध गोल गरेका थिए। डी पाउलले दिएको लामो पासमा डी मारियाले गरेको गोल निर्णायक हुँदा २८ वर्षपछि अर्जेन्टिनाले अन्तर्राष्ट्रिय प्रतियोगिता जित्न सफल भयो।। यस अगाडि ब्राजिल र अर्जेन्टिनाबिच कोपा अमेरिकाको फाइनलमा तीन पटक प्रतिस्पर्धा भएकोमा तीनै पटक ब्राजिलले उपाधि पाएको थियो। सन् १९३७ मा दक्षिण अमेरिका च्याम्पियनसिपको नाममा हुने फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई २-० ले हराएर उपाधि जितेको थियो। सन् २००४ मा भएको पेनाल्टी सुट आउटमा ब्राजिल ४-२ गोलले विजयी भएको थियो। सन् २००७ को कोपा अमेरिकाको फाइनलमा पनि अर्जेन्टिना र ब्राजिलबिच नै भिडन्त भयो। ब्राजिलले ३-० ले अर्जेन्टिनालाई हरायो। सन् २०१५ र २०१६ को फाइनलमा अर्जेन्टिना चिलीसँग पराजित भएको थियो। यस अगाडि सन् १९९३ को कोपाको फाइनलमा मेक्सिकोलाई २-१ ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको थियो। त्यसयता अर्जेन्टिनाले कुनै पनि मुख्य प्रतियोगिताको उपाधि जित्न सकेको थिएन।

असार २७, २०७८ आइतबार ०७:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।