इन्धनको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर १२९ र ग्यास प्रतिसिलिन्डर १४२५ रूपैयाँ

काठमाडौं : नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।
आयल निगमले निगमले पेट्रोल, मट्टितेल तथा डिजेलको मूल्य लिटरमा २ रूपैयाँले बढाएको छ। मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर १ सय २९ रूपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १ सय १२ रूपैयाँ प्रतिलिटर पुगेको छ।
यस्तै, हवाई इन्धन (आन्तरिक उडान)को मूल्य पनि प्रतिलिटर २ रूपैयाँ बढेको छ। हवाई इन्धन (अन्तर्राष्ट्रिय)को मूल्य प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाइएको छ।
निगमले खाना पकाउने (एलपी) ग्यासको मूल्यसमेत बढाएको छ। खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रूपैयाँ बढाइएको हो। आज बेलुका १२ बजेदेखि ग्यास प्रतिसिलिन्डर १ हजार ४ सय २५ रूपैयाँ पर्नेछ।
इन्धनको मूल्य बढाए पनि निगमलाई १५ दिनमा ९१ करोड रूपैयाँ घाटा हुनेछ। यसअघि १५ दिनमा निगमलाई ६५ करोड रूपैयाँ घाटा थियो।
असार २२, २०७८ मंगलबार २३:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।