साउदी अरबमा संस्थागत क्वारेन्टिन बस्दाको खर्च रोजगारदाताले बेहोर्ने

साउदी अरबमा संस्थागत क्वारेन्टिन बस्दाको खर्च रोजगारदाताले बेहोर्ने

काठमाडौं : साउदी अरबमा संस्थागत क्वारेन्टिन बस्दाको खर्च रोजगारदाताले व्यहोर्ने भएको छ। वैदेशिक राेजगार विभागले सूचना जारी गर्दै साउदी अरब जाने कामदारको क्वारेन्टिन खर्च रोजगारदाताले बेहोर्ने जनाएको हो।

साउदी अरब सरकारले गत मे २० बाट कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा नगरेका विदेशी नागरिक देशमा पुगेपछि अनिवार्यरूपमा सात दिनको संस्थागत क्वारेन्टिन बस्नुपर्ने नियम लागू गरेको थियो।

उक्त नियम अनुसार साउदी आउने नन् इम्युन विदेशी नागरिकले संस्थागत क्वारेन्टिनबापत लाग्ने खर्च हवाई टिकट लिँदाकै बखत बुझाउनु पर्ने थियो। 

सात दिनको संस्थागत क्वारेन्टिन खर्च करिव एक हजार अमेरिकी डलरको हाराहारी हुन्छ। उक्त नियमले छुट्टीमा नेपाल आएर पुनः साउदी फर्किन लागेका र पहिलो पटक साउदी अरव जान लागेका नेपाली कामदारलाई निकै मर्का परेको थियो। 

सो मर्का देखिएपछि क्वारेन्टिन वापतको खर्चको भार कामदारलाई पर्न नदिने व्यवस्था गरिदिन परराष्ट्र मन्त्रालयले निरन्तर पहल गर्दै आएको थियो। यसका लागि दूताबासबाट साउदी परराष्ट्र मन्त्रालयमा जुन १० र १३ मा पत्राचार गरिएको थियो।

सोही पत्राचारको जवाफ दिँदै साउदी सरकारले क्वारेन्टिनको खर्च रोजगारदाताले र घरेलु कामदारको हकमा सम्बन्धित रिक्रुटिङ एजेन्सीले बेहोर्ने व्यवस्था गरेको छ।

असार २२, २०७८ मंगलबार १७:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।