मेगा बैङ्कले ल्यायो मेगा मेडि कार्ड

काठमाडौँ : मेगा बैङ्क नेपाल लिमिटेडले ‘मेगा मेडि कार्ड’ ल्याएको छ। ग्राहकहरू बिरामी हुँदा तत्कालै रकम जुटाउन गाह्रो∕अप्ठ्यारो पर्न सक्ने अवस्थालाई हेरेर नयाँ सुविधा थपेको बैङ्कले दाबी गरेको छ।
बैङ्कका क्रेडिट कार्ड सुविधा उपभोग गरिरहेका ग्राहकले न्यूनतम २० हजार देखि १ लाख ५० हजार रुपैंया सम्म क्रेडिट कार्ड (इन्स्टा–बाई) सुविधा १८ महिना सम्मको लागि उपभोग गर्न पाइने बैङ्कले जानकारी दिएको छ।
ग्राहकले आवश्यक कागजपत्र पेस गरेको २ दिनमै यस सुविधा उपलब्ध गराउने व्यवस्था मिलाएको बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बैङ्कका डिजिटल तथा इबैंकिङ्ग विभाग प्रमुख विश्व सिंहका अनुसार, यो सुविधाका लागि प्रक्रियागत शुल्क निःशुल्क गरिएको छ भने क्रेडिट कार्डबापत लाग्ने शुल्कमा पचास प्रतिशत छुटको व्यवस्था गरिएको छ।
साथै, बैङ्कले बैङ्कबाट क्रेडिट कार्ड सुविधा प्रयोग गरेका ग्राहकहरूले हेल्थ प्याकेज लिन चाहेमा त्यसको भुक्तानी गर्ने सुविधा समेत ल्याएको छ। अस्पतालको बिल भुक्तानीका लागि बिरामीको परिवारलाई समेत नाता प्रमाणित प्रमाणपत्रका आधारमा रकम उपलब्ध गराइने बैङ्कले जनाएको छ।
यस अन्तर्गत अस्पतालको बिल सोझै बैङ्क समक्ष पेस गरेर क्रेडिट कार्ड मार्फत अस्पताललाई भुक्तानी गर्न सकिने र भुक्तानी गरिसकेको बिलको शोधभर्ना समेत लिन सकिने विज्ञप्तिमा उल्लेख छ।
असार २०, २०७८ आइतबार २०:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।