सुर्खेतमा मानव बेचबिखन मुद्दाका सहित तीन जना फरार दाेषी पक्राउ

सुर्खेतमा मानव बेचबिखन मुद्दाका सहित तीन जना फरार दाेषी पक्राउ

सुर्खेत : जिल्ला प्रहरी कार्यालय, सुर्खेतले अदालतबाट दाेषी ठहर गरिएका तीन जना फरार व्यक्तिलाई पक्राउ गरेको छ। 

मानव बेचबिखन ओसार पसार, चेक अनादार र ज्यान मार्ने उद्योग मुद्दामा अदालतबाट दाेषी ठहर गरिएका तीन जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार मानव बेचबिखन ओसार पसार मुद्दामा कैद सजाय पाएका सुर्खेत, वीरेन्द्रनगर–२ का ४० वर्षीय भीमप्रसाद न्यौपानेलाई सुर्खेत, वीरेन्द्रनगरबाट पक्राउ गरिएको छ। उनलाई सर्वाेच्च अदालतले २०७६ पुस २ गते ९ वर्ष २ महिना १३ दिन कैद र २५ हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो।  

यस्तै, चक अनादार मुद्दामा फैसला भएका वीरेन्द्रनगर–४ कालागाँउका ४६ वर्षीय धर्मराज गिरीलाई पनि प्रहरीले पक्राउ गरेको छ। सुर्खेत जिल्ला अदालतले यहीँ असार १० गते गिरीबाट ४२ हजार ५ सय रूपैयाँ जरिवाना असुल गर्न फैसला गरेको थियो।

यसैगरी, ज्यान मार्ने उद्योग मुद्दामा फैसला भएको १० वर्षदेखि फरार रहेका दैलेख दुल्लु नगरपालिका–६ छिउडीपुसाकोट ३४ वर्षीय प्रदीप खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ। अदालतले २०६८ भदौ २८ गतेको खड्कालाई पाँच वर्ष कैद फैसला सुनाएको हो।

खड्कालाई वीरेन्द्रनगर बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता एवं सूचना अधिकारी रामप्रसाद घर्तीले जानकारी दिए। 

खड्काको पिसिआर परीक्षण नगरिएकाले आइतबार मात्रै अदालतमा उपस्थिति गराइने छ। न्यौपानेलाई कैद भुक्तानको लागि र गिरीलाई जरिवाना तिर्न शुक्रबार नै अदालतमा उपस्थित गराइएको प्रवक्ता घर्तीको भनाइ छ।

असार १८, २०७८ शुक्रबार २१:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।