बिपी प्रतिष्ठानमा तालाबन्दी, माग पूरा नभए प्रधानमन्त्री कार्यालय घेराउ आन्दोलनरत पक्षको चेतावनी

मंगलबारको वार्तामा उपकुलपति डा. ज्ञानेन्द्र गिरी मादक पदार्थ सेवन गरेर आएको भन्दै आन्दोलनरत समूहले प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।
मंगलबार उपकुलपति असामान्य अवस्थामा भएको भन्दै आन्दोलनकारी वार्तास्थलबाट बाहिर निस्किएर पदाधिकारीलाई कोठाभित्र थुनिएका थिए।
बुधबार आन्दोलनरत समूहले पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरी राजीनामा माग गरेका हुन्।
प्रतिष्ठानका चिकित्सक, कर्मचारी र विद्यार्थीले प्रतिष्ठानको अनियमितता रोक्नुपर्ने, बिरामीले सर्वसुलभ उपचार पाउनुपर्ने, डाक्टर तथा नर्सलाई सम्मानजनक व्यवहार हुनुपर्ने जस्ता माग राखेर दुई सातादेखि आन्दोलनमा छन्।
उनीहरूले प्रधानमन्त्रीकै पहलमा उच्चस्तरीय वार्ता टोलीको गठन गर्नुपर्नेलगायत माग थपेका छन्। यस्तै, पदाधिकारी चयन गर्दा विशिष्टीकृत एवं विज्ञको समूह बनाउनुपर्ने र त्यसैको सिफारिसको आधारमा नियुक्ति गरिनुपर्ने उनीहरूको माग छ।
उनीहरूले उल्लेखित माग एक साताभित्र पूरा नभए सामूहिक राजीनामा दिने र प्रधानमन्त्री कार्यालय घेराउ गर्ने चेतावनी दिएका छन्।
मंगलबारको वार्तामा सहभागी उपकुलपतिले मदिरा सेवन गरेको कुरा बाहिर आएपछि आन्दोलन झनै चर्किएको छ। आन्दोलन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यलय, सुनसरीले प्रहरी परिचालन गरेको छ।
प्रहरीको घेरा तोड्दै आन्दोलनरत समूहले राति करिब ९ बजेसम्म उपकुलपति कार्यालय घेराउ गरेको थियो।
असार १६, २०७८ बुधबार १८:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।