बिपी कोइराला अध्ययन अनुसन्धान केन्द्र भवन शिलान्यास

बिपी कोइराला अध्ययन अनुसन्धान केन्द्र भवन शिलान्यास

काठमाडौं : बिपी कोइराला मेमोरियल ट्रस्टले ‘बिपी कोइराला अध्ययन अनुसन्धान केन्द्र’को भवन शिलान्यास गरेको छ।

काठमाडौं महानगरपालिका–५, हाँडीगाउँमा निर्माण गरिन लागिएको उक्त भवनको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्रीसमेत रहेका बिपीपुत्र डा. सशांक कोइराला र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज संयुक्तरूपमा शिलान्यास गरे। 

उक्त भवन बनाउन काठमाडौं महानगरपालिकाले दुई करोड रूपैयाँ र बाग्मती प्रदेश सरकारले ५० लाख रूपैयाँ सहयोग गरेको प्रतिष्ठानका महासचिव रामचन्द्र पोख्रेलले जानकारी दिए। 

साढे चार करोड लागत अनुमान गरिएको उक्त भवन निर्माणमा ट्रस्टको १ करोड रूपैयाँ लगानी गर्ने छ। बाँकी रकम दाताबाट जुटाउने ट्रस्टले जनाएको छ। 

ट्रष्टका महासचिव पोख्रेलले बिपीलाई अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउन उनको स्मृतिमा अध्ययन–अनुसन्धान केन्द्र स्थापना गरेको बताए। साथै बिपीका बारेमा एकै ठाउँ बसेर अध्ययन–अनुसन्धानका लागि सहज होस् भनेर केन्द्र स्थापना गर्न लागिएको उनको भनाइ छ। 

कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतको सहभागिता थियो।
 

असार १६, २०७८ बुधबार १६:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।