रुपन्देहीको आम्दा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

रुपन्देहीको आम्दा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

रोटरीले ग्लोबल ग्रान्ट प्रोजेक्ट अन्तर्गत ५५ लाख रुपैयाँको लागतमा अक्सिजन ग्यास प्लान्ट स्थापना गरिदिएको हो। कोभिड १९ को महामारीले केही समय पहिले रुपन्देही लगायत देशभर अक्सिजन अभाव भएको थियो। 

क्लबका अध्यक्ष सुनिल श्रेष्ठले आम्दामा स्थापना भएको प्लान्टले अक्सिजन आपूर्तिका लागि सहज हुने बताए। रोटरीले अक्सिजन प्लान्ट स्थापना गरी अस्पताललाई हस्तान्तरण गरेको हो।

‘हामीले लुम्बिनी प्रादेशिक अस्पतालमा पाँच वर्षअघि नै अक्सिजन प्लान्ट स्थापना गरेका थियौँ,’श्रेष्ठले भने,‘आम्दा अस्पतालमा अक्सिजन प्लान्ट नभएको अवस्थालाई मध्यनजर गर्दै रोटरीयनहरुको सहयोगमा प्लान्ट निर्माण गरेका हौँ।’

अस्पतालमा निर्माण गरिएको प्लान्टबाट २४ घण्टामा २० देखि २५ वटा ठुला सिलिन्डरमा अक्सिजन भर्न सकिनेछ। प्लान्टको उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य एवं पुर्वमन्त्री लीला गिरीले स्वास्थ्य जस्तो महत्त्वपूर्ण क्षेत्रमा रोटरीले लगानी गरेर उदाहरणीय काम गरेको बताए। उनले यसको संरक्षणमा ध्यान दिन आग्रह गरे।

रोटरी क्लब अफ बुटवलका पूर्व अध्यक्ष एवं रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का वर्ष २०२३–२४ का डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजूले प्लान्ट निर्माणले आगामी दिनमा समेत अस्पतालको सेवामा टेवा पुर्याउने विश्वास व्यक्त गरे।

प्लान्ट हस्तान्तरणका क्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालले अक्सिजन प्लान्ट दिगो रूपमा सञ्चालन गर्न अस्पतालले ध्यान दिने बताए। 

असार १५, २०७८ मंगलबार १३:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।