डेनमार्क र इटाली क्वाटरफाइनलमा

डेनमार्क र इटाली क्वाटरफाइनलमा
इटालियन फुटबल टाेली।

काठमाडौं : डेनमार्क र इटाली १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा पुगेका छन्। 

नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा शनिबार राति सम्पन्न पहिलोे प्रि–क्वाटरफाइनलमा १० खेलाडीमा सीमित वेल्सलाई ४–० गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम आठमा प्रवेश गरेको हो। 

डेनमार्कलाई जित दिलाउन युवा स्ट्राइकर कास्पर डोलवर्गले २ गोल गरे। जोकिम माहेल र मार्टिन ब्रेथवेटले १/१ गोल गरे।

खेलको इन्जुरी समयको पहिलो मिनेटमा ह्यारी विल्सनले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो। माहेललाई फउल गरेपछि विल्सनलाई रातो कार्ड दिइएको थियो।

डेनमार्कले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग खेल्नेछ।

यस्तै, इंग्ल्यान्डको वेम्बली स्टेडियममा आइतबार बिहान सम्पन्न प्रि–क्वाटरफाइनलमा अस्ट्रियालाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै इटाली क्वाटरफाइनलमा पुगेको छ। 

इटालीलाई जित दिलाउन फेडरिको चिसा र माटियो पेसिनाले १/१ गोल गरे। अस्ट्रियाका सासा कलाडिज्कले १ गोल फर्काए।

इटालीले क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ।

एजेन्सी

असार १३, २०७८ आइतबार ०८:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।