डोटीमा खोलाले बगाउँदा बालिका बेपत्ता 

डोटीमा खोलाले बगाउँदा बालिका बेपत्ता 
सांकेतिक तस्बिर।

काठमाडौं : डोटीको पूर्वीचौकी गाउँपालिकामा स्थानीय खोलाले बगाउँदा बालिका बेपत्ता भएकी छन्। 

जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रबहादुर मल्लका अनुसार स्थानीय गण्डिगाड खोलाले बगाउँदा पूर्वीचौकी गाउँपालिका–४ बस्ने भीम मिजारकी ५ वर्षीया छोरी मिनु बेपत्ता भएकी हुन्। 

गाई चराउन गएका बेला उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ। बेपत्ता बालिकाको खोजीका लागि सानागाउँस्थित प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक नारायणदत्त बडुको कमाण्डमा चार जना प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

खोलामा बाढी आएकाले बेपत्ता बालिकाको खोजीमा समस्या भएको प्रहरीले जनाएको छ।  

असार १२, २०७८ शनिबार २०:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।