गोलभेँडा बेचेरै मासिक साढे २ लाख

काठमाडौं : कोरोना भाइरसको महामारीका कारण रोजगारी गुमाउन पुगेका युवाहरू कृषि खेतीमा आकर्षित भएका छन्।
छोटो समयमै आम्दानी लिन सक्ने भएपछि पछिल्लो समयमा युवाहरू कृषि खेतीतर्फ आकर्षित भएका हुन्। काठमाडौं मुलपानीको ताजा कृषि तथा पशुपन्छी फार्मका अध्यक्ष राङडोल लामाले करिब साढे १२ रोपनीमा सुरु गरेको गोलभेँडा खेतीले राम्रै आम्दानी दिने गरेको बताए। उनका अनुसार एक सिजनमा गोलभेँडा बेचेर मात्रै २० देखि ३० लाख रुपैयाँसम्म कमाउन सकिन्छ।
२० लाख रुपैयाँ लगानीबाट सुरु गरेको उक्त फार्मले दैनिक ७ जनालाई रोजगारी दिएको अध्यक्ष लामाले बताए। लामाका अनुसार गोलभेँडा, तिते करेला, काँक्रा, सिमी, बोडी, घिरौँला, लौका, धनियाँ, फर्सी, काउली लगायतका विभिन्न सागसब्जीहरू फार्ममा पाउन सकिन्छ।
फार्मका व्यवस्थापक तथा सञ्चालक सुगम कुमार पाख्रिन बजारमा तरकारीको भाउ बढे पनि आफूहरू भने थोरै मूल्यमा विक्री गर्नु बाध्य भएको बताउँछन्। पाख्रिन नेपालमा लकडाउन हुन केहीदिनमात्रै अगाडी दुबईको मासिक डेढ लाखको रोजगारी छोडेर खेती गर्न नेपाल आएका हुन।
पाख्रिनजस्तै विदेशको रोजगारी छाडेर नेपालमै केही गर्छु भन्नेहरूलाई सरकारले ल्याएको विभिन्न अनुदान लगायतका कार्यक्रमले भने छुन सकेको छैन। पाख्रिनले भने, ‘अनुदान भनेको हामी जस्तो कृषिमा लागेकाहरूलाई होइन रहेछ, यो सबै कागजी प्रक्रिया मिलाएर खानेको लागि मात्रै रहेछ।’ उनले सरकारले सस्तो ब्याजको लोन समेत नपत्याएको बताए।
असार १२, २०७८ शनिबार १२:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।