धरान उपमहानगरको बजेट : शिक्षा, स्वास्थ्य र पर्यटन केन्द्रसहित आवासीय सहर बनाइने

इटहरी : सुनसरीकाे धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि २ अर्ब ३ करोड ६४ लाख रूपैयाँको बजेट नगरसभामा पेस गरेको छ। यो बजेट चालु आर्थिक वर्ष २०७७/७८ भन्दा करिब ३१ करोड रूपैयाँले बढी हो।
शिक्षा, स्वास्थ्य तथा पर्यटन प्रवर्द्धनमा जोड दिइएको बजेटमा धरानलाई आवासीय सहरको रूपमा विकास गरिने उल्लेख छ।
धरानमा बसोबास गर्ने विभिन्न जनजातिका मातृभाषा अध्ययन गरिने शिक्षालयको रूपमा विकास गर्न बहुजातीय शिक्षालय स्थापना गरिने भएको हो। शिक्षालय मातृभाषा अध्ययनको लागि मात्र नभई विभिन्न जातजातिको रितिथिति, संस्कृति, रहनसहन, परम्परा र इतिहास अध्ययन गर्ने प्रतिष्ठानको रूपमा विकास गरिने बजेटमा उल्लेख गरिएको छ।
प्रत्येक जातिको संस्कार, संस्कृति र परम्परा अध्ययन अवलोकन गर्न पर्यटकीय क्षेत्रको रूपमासमेत विकास गरिने भएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरी धरानलाई स्वास्थ्य क्षेत्रको हबको रूपमा विकास गरिने भएको छ।
यस्तै, स्थानीय लिपि तथा संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनको लागि ३५ लाख रूपैयाँ विनियोजन गरिएको छ।
यसैगरी, युवा तथा खेलकुदमा १ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ। नगरस्तरीय ६३ वटा आयोजनाको लागि १८ करोड ३१ लाख विनियोजन गरिएको छ भने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी कार्यक्रमको लागि ५० लाख बजेट विनियोजन गरिएको छ।
कोभिड १९ को असरले राजश्वको संकलन लक्ष्यअनुरूप हुन नसकेको र आन्तरिक स्रोतबाट संकलन हुने आय कमी भएको छ। बजेटमा अनुत्पादक क्षेत्रको खर्चलाई कटौती गर्ने नीति अबलम्बन गरिएको छ। करको दर पुनरावलोकन गर्नुपर्ने चाहनालाई सम्बोधन गरी करको दर र दायरा फराकिलो बनाएर जनमैत्री करको अवधारणा अनुसार राजश्व नीति अवलम्बन गरिएको उपप्रमुख भण्डारीले बताइन्।
उपमहानगरपालिकाको सेवा प्रवाहलाई चुस्त, दुरुस्त र परादर्शी ढंगबाट विद्युतीय माध्यमबाट प्रवाह गरी सर्वसुलभ बनाउने लक्ष्य लिइएको छ। अनियमितता र ढिलासुस्ती निर्मुल गरी भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न आन्तरिक अनुशासन इकाइ गठन गर्ने र ‘भ्रष्टाचाररहित उपमहानगरपालिका : धराने जनताको अभिलाषा’ भन्ने नारालाई मूल मन्त्रको रूपमा कार्यान्वयन गर्ने उपमहानगरले जनाएको छ। यस्तै, धरानलाई प्रदेश १ को रूपमा विकास गर्ने नीति पनि अवलम्बन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
आगामी आर्थिक वर्षको लागि २० वटा वडामा २८ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ। वडालाई दिइएको यो बजेट चालु आर्थिक वर्षको भन्दा ४ करोड बढी हो।
मेयर कोषमा १ करोड २० लाख, मर्मत कोषमा ५० लाख, आकस्मिक कोषमा ३० लाख विनियोजन गरिएको छ भने चालु भैपरी आउने खर्चमा २० लाख र विपद् व्यवस्थापन कोषमा १ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ।
असार ११, २०७८ शुक्रबार २१:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।