इटहरी उपमहानगरद्वारा २ अर्ब २७ करोडको बजेट सार्वजनिक, अस्पतालको गुणस्तर बढाउनेदेखि करको दरमा छुटसम्म

बिहिबार बसेको नगरसभा बैठकले अनुमोदन गरेको बजेट उपमेयर लक्ष्मी गौतमले सोही दिन सार्वजनिक गरेकी हुन्। आगामी आर्थिक वर्षका लागि २ अर्ब २७ करोड ४५ लाख रूपैयाँको बजेट विनियोजन भएको हो।
बजेटमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गर्नेदेखि करको दरमा भारी छुटको योजनासहित बजेट पारित भएको हो।
स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै इटहरी अस्पतालको स्तरोउन्नति गरी भेन्टिलेटर र आइसियु सहितको सेवा उपलब्ध गराइने भएको छ।
विभिन्न १४ वटा वडामा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइने र एक लाख नागरिकलाई स्वास्थ्य बिमा गराउने लक्ष्य बजेटले लिएको छ।
स्वास्थ्य क्षेत्रको लागि चालु आर्थिक वर्षभन्दा १ करोड ५० लाख रूपैयाँ बढी अर्थात ४ करोड रूपैयाँ विनियोजन गरिएको हो।
त्यस्तै, इटहरी अस्पताल वा इटहरी स्वास्थ्य केन्द्रमा सुत्केरी हुने विपन्न महिलासँग ‘उपमेयर सुत्केरी भेटघाट’ कार्यक्रम प्रभावकारी देखिएकाले सो कार्यक्रमलाई निरन्तरता दिइएको छ।
आजसम्म ४ सयभन्दा वढी महिला उद्यमी र आत्मनिर्भर बन्न सफल भएको ठहर गर्दै ‘उपमेयर आत्मनिर्भर कार्यक्रम’ले पनि निरन्तरता पाएको छ।
सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला, पुस्तकालय, शुद्ध पिउने पानी, बालमैत्री शौचालय, कक्षा ५ सम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बजेटमा उल्लेख छ।
बजेटमा शिक्षा क्षेत्रका लागि २ करोड रकम विनियोजन गरिएको छ।
कृषि तथा पशु विकास कार्यक्रमका माध्यमबाट किसान लाभान्वित हुन सकुन् भन्ने उद्देश्यले आगामी वर्षका लागि यस शीर्षकमा २ करोड ५० लाख रूपैयाँ विनियोजन गरिएको छ। इटहरीवासीलाई आत्मनिर्भर र सक्षम बनाउन सामाजिक विकास क्षेत्रका लागि ३ करोड रूपैयाँ विनियोजन गरिएको छ।
शीतभण्डार सहितको आधुनिक कृषिबजारको निर्माणका लागि पाँच करोड ५८ लाख बजेट विनियोजन गरिएको छ।
खेलकुद क्षेत्रलाई पनि बजेटले प्राथमिकतामा राखेको छ। ‘मेयर कप’, ‘इटहरी गोल्डकप’सँगै, अन्तर विद्यालय खेलकुद, नगर स्तरीय जस्ता कार्यक्रम संचालन गरिने भएको छ। आगामी आर्थिक वर्षबाट खुला व्यायामशाला निर्माण गर्ने लगायतका कार्यक्रम संचालन गरिने भएको छ।
शौचालयको समस्या भोग्दै आएको इटहरीमा यसअघि असफल भएको घुम्ती शौचालयले पुनः प्राथमिकता पाएको छ।
इटहरीका एफ.एम. रेडियो र टेलिभिजनलाई उपलब्ध गराउँदै आएको कार्यक्रमको निरन्तरता, फिचर लेखन तालिम, फेलोसिप लेखन तथा पत्रकार सम्मान आदि कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिइने भएको छ।
पत्रकार महासंघ, सुनसरीको भवनलाई समेत आवश्यक बजेट उपलब्ध गराउने गरी सूचना तथा संचार क्षेत्रमा आवश्यक बजेटको व्यवस्था गरिएको छ।
भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकलाई जग्गाको मालिक बनाउने कार्य महत्त्वपूर्ण र ऐतिहासिक कार्य सम्पन्न गर्ने बजेटमा उल्लेख गरिएको छ।
हरेक वर्ष इटहरीवासीले भोग्दै आएको बाढी र डुवान नियन्त्रणमा जम्मा १ करोड ५० लाख विनियोजन गरिएको छ। बाढी, शीतलहर, आगलागी वा अन्य यस्ता कुनै पनि प्राकृतिक तथा गैरप्राकृतिक विपद्बाट नागरिकको जिउधन सुरक्षा गरिने भएको छ।
करमा छुट
चालू आर्थिक वर्षको राजश्व असुलीबाट ३८ करोड अनुमान गरिएको भए पनि पहिलो तीन महिना र अन्तिम तीन महिना कोभिड संक्रमणको माहामारीका कारण अधिकतम २१ करोड मात्र असुल भएको छ।
लक्ष्य अनुसारको राजस्व संकलन नभएपछि करको दरमा छुट दिने कार्यक्रम सार्वजनिक भएको छ।
२०७६/०७७ मा लाग्ने कर २०७८ माघ मसान्तसम्म बुझाएमा थप शुल्क, दस्तुर, ब्याज, जरिवाना मिनाहा गरिने साथै आर्थिक वर्ष .२०७३/७४ सम्म तिर्नुपर्ने व्यवसाय कर सम्पूर्ण मिनाहा गरिने भएको छ।
यस अघिको सम्पत्ति कर, भूमिकर नतिरेका करदाताले तिर्नुपर्ने कर २०७८ माघ मसान्तसम्म बुझाएमा थप शुल्क, ब्याज, जरिवाना मिनाहा गरिएको छ।
२०७५ असार मसान्त अगाडिको बहाल कर मिनाहा गरिने र त्यसपछिको हकमा २०७८ माघ मसान्तमा बुझाए ब्याज, शुल्क र जरिवाना मिनाहासहित लाग्ने करमा १५ प्रतिशत छुट गरिने भएको छ।
आर्थिक वर्ष २०७७/७८ को व्यवसाय कर २०७८ माघ मसान्तसम्म बुझाएमा ब्याज, शुल्क जरिवानासहित करमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।
कोभिड १९ का कारण सबैभन्दा बढी प्रभावित भएका व्यवसाय, होटल व्यवसाय, सौन्दर्यकला व्यवसाय, शैलुन व्यवसायलाई ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
त्यस्तै, आर्थिक वर्ष २०७८/७९ को व्यवसाय कर २०७८ माघ मसान्तसम्म बुझाएमा करमा २० प्रतिशत छुट दिइने भएको छ। २०७८÷७९ मा लाग्ने घर जग्गा बहाल कर, २०७८ माघ मसान्तसम्ममा बुझाएमा लाग्ने करमा १० प्रतिशत छुट हुने भएको छ। तर, करमा छुट दिएको भनिए पनि केही सर्त राखिएका छन्।
छुटको विषय वित्तीय सेवा र ऋण तथा बचत सहकारी संस्था, निर्माण व्यवसाय र १० लाखभन्दा माथि पूँजी लगानी भएका उद्योगको लागि छुटको व्यवस्था लागु नहुने भएको छ। यसले अधिकांश व्यावसायी मर्कामा पर्ने भएका छन्।
असार १०, २०७८ बिहीबार २३:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।