विराटनगर महानगरद्वारा ४ अर्ब १० करोड रूपैयाँको बजेट प्रस्तुत

विराटनगर महानगरद्वारा ४ अर्ब १० करोड रूपैयाँको बजेट प्रस्तुत

बिहीबार महानगरपालिकाको आठौं नगरसभामा उपप्रमुख इन्दिरा कार्कीले नीति तथा कार्यक्रम तथा राजश्व र व्ययको अनुमान (बजेट) प्रस्तुत गरेकी छन्। 

उपमेयर कार्कीद्वारा प्रस्तुत बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ४६ करोड ७० लाख ५२ हजार ९ सय २५ रूपैयाँ,  पूँजीगततर्फ ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार र वित्तीय व्यवस्था तर्फ ५ करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको छ। बजेटमा प्रशासनिक खर्चतर्फ ११ प्रतिशत र पूँजीगततर्फ ८९ प्रतिशत बजेट छुट्याएको हो। 

अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत संघीय सरकारबाट १ अर्ब १९ करोड ५३ लाख, प्रदेश सरकारबाट ४ करोड ९० लाख १५ हजार, राजश्व बाँडफाँडबाट १ अर्ब १ करोड ४७ लाख ८३ हजार, आन्तरिक आम्दानीबाट ८३ करोड ९ लाख २५ हजार, अन्य अनुदान तथा ऋणबाट ७० करोड ५५ लाख ८ हजार ५ सय, संघसंस्थाबाट १ करोड ४४ लाख र जनसहभागिताबाट १० करोड आम्दानी हुने अनुमान गरिएको छ।

यसैगरी, पूँजीगत खर्चमध्ये पूर्वाधार विकासमा २ अर्ब ४ करोड ३९ लाख ४८ हजार, आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख, सामाजिक विकास क्षेत्रमा १ अर्ब २६ करोड ६९ लाख, सुशासन तथा वातावरण क्षेत्रमा ९ करोड ३७ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ। 

क्रमागत योजनाको भुक्तानीका लागि २५ करोड ३५ लाख, शिक्षातर्फ ५५ करोड ७७ लाख, युवा तथा खेलकुदतर्फ १ करोड ६१ लाख, स्वास्थ्यतर्फ १८ करोड १ लाख र विपद् व्यवस्थापनतर्फ ३ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ। 

उपमेयर कार्कीले भनिन्, ‘कोभिड महामारीका कारण उत्पन्न समस्यालाई समेत सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रमहरू केन्द्रित गरिएको छ।’

बजेटमा वडास्तरीय आयोजनाको लागि २६ करोड ७८ लाख, नगरस्तरीय गौरवको आयोजनामा १७ करोड ३८ लाख, वीरेन्द्र सभागृह निर्माणका लागि १९ करोड ५० लाख, ल्याण्डफिल्ड साइड, अन्तर्राष्ट्रिय सभाहलको जग्गा खरिद गर्न १५ करोड विनियोजन भएको छ। 

विराट राजाको दरवार क्षेत्रका लागि ५ करोड, सिंघिया तटमा सन्ध्याकालीन आरतीका लागि २ करोड, हिमालय रोड निर्माण गर्न ३ करोड, महानगर आवास योजनाका लागि ९० लाख, फोहोर पानी प्रशोधन केन्द्रलाई २ करोड, फ्लाइ ओभर पुल निर्माणका लागि २ करोड ४५ लाख, प्रधानमन्त्री पार्कका लागि ५ करोड र अन्य नगरस्तरीय आयोजनाका लागि ४० करोड रूपैयाँ विनियोजन भएको छ। 

त्रि–वर्षीय मध्यकालीन खर्च संरचनाअन्तर्गत आगामी तीन वर्षको खर्चको अनुमानसमेत पेस भएको छ। आर्थिक वर्ष २०७९/०८० मा ४ अर्ब ३७ करोड र आर्थिक वर्ष २०८०÷८१ मा ४ अर्ब ७३ करोडको आयव्ययको अनुमान गरिएको छ।

महानगरपालिकाले पछिल्लो चार वर्षको अवधिलाई पूर्वाधार निर्माणमा प्रगति भएको निक्र्योल निकालेको मेयर (नगर प्रमुख) भीम पराजुलीले बताएका छन्। पूर्वाधार विकासमा महानगरभित्र भएको प्रगतिको प्रभाव सकारात्मक देखिएको उनको भनाइ छ।

दातृ निकायको ऋण सहयोगमा सञ्चालित दुई ठूला परियोजना सम्पन्न हुँदा महानगरभित्र ६२८ किलोमिटर नाला, ७९ किलोमिटर ढल प्रणाली, २ हजार २३३ वटा हाउस कनेक्सन, ५९ किलोमिटर फुटपाथ सहितको पिच सडक, ४१ किलोमिटर सडक सुधारको काम सम्पन्न गरेको जनाइएको छ। 

चालू वर्षको १० महिनाको आय–व्यय ५० प्रतिशतभन्दा कम

चालू आर्थिक वर्षको १० महिनामा लक्ष्य अनुसार आम्दानी र खर्च ५० प्रतिशतभन्दा कम देखिएको छ। उक्त अवधिमा महानगरले लक्ष्यको ५० प्रतिशत पनि आम्दानी गर्न सकेको छैन।

चालू आर्थिक वर्षका लागि महानगरले ४ अर्ब २३ करोड ३ लाख रूपैयाँको आय अनुमान गरेकोमा १० महिनामा १ अर्ब ४४ करोड ९९ लाख रूपैयाँ मात्र यथार्थ आम्दानी गरेको छ। 

यो अवधिमा ३ अर्ब ६३ करोड पूँजीगत खर्च हुने अनुमान गरिएकोमा ८८ करोड मात्र खर्च गर्न सकेको छ। 

९५ करोड आन्तरिक आम्दानी हुने अनुमान गरेको महानगरले पछिल्लो १० महिनाको अवधिमा ३१ करोड ३८ लाख मात्र आम्दानी गरेको छ।

असार १०, २०७८ बिहीबार २२:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।