भारतलाई हराउँदै न्युजिल्याण्डलाई पहिलाे वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि

भारतलाई हराउँदै न्युजिल्याण्डलाई पहिलाे वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि

काठमाडौं : न्युजिल्याण्डले पहिलाे वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ।

इंग्ल्याण्डको साउथहेम्पटनमा आज सम्पन्न फाइनलमा भारतलाई ८ विकेटले हराउँदै न्युजिल्याण्डले उपाधि जितेको हो। 

खेलको रिजर्भ डेमा जितका लागि १ सय ३९ रनको लक्ष्य पाएको न्युजिल्याण्डले दिनको खेल सकिनुअगावै २ विकेट गुमाएर लक्ष्य पूरा गर्याे। वर्षाका कारण दुई दिन खेल रद्द भएपछि नतिजाका लागि रिजर्भ डेमा खेलाइएको थियो। 

उपाधिसँगै न्युजिल्याण्डले १६ लाख अमेरिकी डलर पुरस्कार पाउने छ। उपविजेता भारतले भने ८ लाख अमेरिकी डलर पाउने छ। 

प्रतियोगिता सन् २०१९ मा सुरु भएको थियो।

यस्ताे रह्याे खेल

जुन १८ (गत शुक्रबार) मा सुरु हुने भनिएकाे खेल निरन्तर वर्षा भएपछि टससमेत नभई रद्द गरियाे। पहिलो दिनको खेल रद्द गरेपछि दोस्रो दिनबाट थालिएको खेलमा भारतले टस हारेर ब्याटिङको निम्तो पायाे। दोस्रो दिनको खेल सकिँदा भारतले ३ विकेट गुमाएर १ सय ४६ रन बनायाे।

भारतले तेस्रो दिन १ सय ४६ रनबाट सुरु गर्याे। तर, थप ७१ रन जोडेर २ सय १७ रनमा अलआउट भयो। त्यसपछि पहिलो पारीको खेल थालेको न्युजिल्याण्डले दिनको खेल सकिँदा २ विकेट गुमाएर १०१ रन बनाएको थियो। 

फाइनलको चौथो दिनको खेल पुनः वर्षाले प्रभावित बन्यो। र, रद्द गरियो। 

त्यसपछि १०१ रनबाट पाँचौं दिनको खेल थालेको न्युजिल्याण्डले २ सय ४९ रनमा अलआउट भयो। सोही दिन दोस्रो पारीको सुरुवात गरेको भारतले दिनको खेल सकिँदा २ विकेट गुमाएर ६४ रन जोडेको थियो। 

त्यसपछि रिजर्भ डेमा ६४ रनबाट खेल थालेको भारतले १ सय ७० रन मात्रै बनाउन सकेपछि न्युजिल्याण्डले १ सय ३९ रनको लक्ष्य पाएको थियो।

असार ९, २०७८ बुधबार २३:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।