वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनल : वर्षाका कारण चौथो दिनको खेल सुरु हुन सकेन

इंग्ल्याण्डको साउथहेम्पटनमा जारी फाइनलको चौथो दिनको खेलमा ढिलाइ भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
खेलको तेस्रो दिनको खेल सकिँदा न्युजिल्याण्डले २ विकेट गुमाएर १०१ रनमा खेलिरहेको छ। न्युजिल्याण्डका केन विलियम्सन १२ रन बनाएका छन् भने रोस टेलरले रन बनाउन सकेका छैनन्।
त्यसअघि टम लाथमले ३० र डेभोन कन्वे ५४ रन बनाएर आउट भएका थिए।
खेलको तेस्रो दिन भारत २ सय १७ रनमा अलआउट भएपछि न्युजिल्याण्डले ब्याटिङ थालेको थियो।
त्यसअघि टस हारेर ब्याटिङ थालेको भारतका लागि अजिक्या रहानेले सर्वाधिक ४९ रन बनाउँदा कप्तान विराट कोहलीले ४४ रन जोडेका थिए।
यस्तै, रोहित शर्माले ३४, शुभमन गिलले २८, रविचन्द्रन आश्विनले २२ र रविन्द्र जडेजाले १५ रन बनाएका थिए। अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।
भारतलाई कम स्कोरमा रोक्न न्युजिल्याण्डका केएल जेमिन्सनले सर्वाधिक ५ विकेट लिएका थिए। यस्तै, ट्रेन्ट बोल्ट र नेयल वाग्नरले समान २ विकेट लिँदा टिम साउथीको नाममा १ विकेट रह्यो।
खेल जुलाई २२ मा सकिने छ।
असार ७, २०७८ सोमबार १७:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।