बोर्डको हस्तक्षेपपछि सेयर बजार निरन्तर ओरालोमा, ६३ अङ्कले घट्यो आइतबार

बोर्डको हस्तक्षेपपछि सेयर बजार निरन्तर ओरालोमा, ६३ अङ्कले घट्यो आइतबार

काठमाडौँ : साताको पहिलो दिन आइतबार सेयर बजारमा नेप्से परिसूचक ६३ दशमलव २८ अङ्कले घटेर २ हजार ९  सय ०५ दशमलव  ३२ अङ्कमा झरेको छ।

कारोबार सुरु भएको केही समय सेयर कारोबार उकालो लागेको थियो। तर बजार बन्दा हुँदा मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट देखियो।

नेप्से ३ हजार माथि पुगेर रेकर्ड बनाएको थियो। नेपाल धितो पत्र बोर्डको विज्ञप्तिपछि सुरु भएको नेप्सेको ओरालो यात्रा थामिने सङ्केत देखिएको छैन। नेप्सेमा कारोबार हुने अधिकांश कम्पनीहरूको सेयर मूल्य घटेर बजार समूहगत सवइन्डेक्सहरु सबै राताम्मे देखिएका छन्।

परिसूचक ओरालो लागिरहँदा कारोबार रकम भने केही बढेको छ। गत बिहीबार ११ अर्ब भन्दा कम कारोबार भएकोमा आइतबार करिब १२ अर्बको कारोबार भयो।

आइतबार दिनभर भएको १ लाख २८ हजार २ सय ८१ कारोबारबाट २ सय ३० कम्पनीको २ करोड ७३ लाख ४४ हजार ५ सय कित्ता सेयर सेयर किनबेच भयो। कारोबार रकम ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २ सय ८९ रुपैयाँ पुग्यो।

आइतबार ऋणपत्रको मूल्य केही बढेका छन्। फाइनान्स र विकास बैङ्क समूहले गुमाएका छन्।

सेयर बजारबारे जानकारबिच किन सेयर बजार ओरालो लाग्यो भन्नेमा एकमत देखिन्न। कतिपयले तीन हजार अङ्क माथि पुगेको बजार करेक्सनमा हिँडेको बताउँछन् त कतिले बोर्डले बजारमा अनावश्यक हस्तक्षेप गर्दा नयाँ लगानीकर्ता डराएको तर्क गरिरहेको छन्। कतिपयले भने बैङ्किङ क्षेत्रमा तरलता अभाव चुलिएपछि त्यसको असर सेयर बजारमा परेको तर्क गरेका छन्।

असार ६, २०७८ आइतबार १६:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।