युरो कपमा आज : इटाली र वेल्सबीच शीर्ष स्थानको होड, पहिलो जितको खोजीमा स्विजरल्याण्ड र टर्की

काठमाडौं : १६ औं संस्करणको युरो कप फुटबलमा आज (आइतबार) दुई खेल हुँदै छन्।
प्रतियोगिताअन्तर्गत आज समूह ‘ए’का इटाली र वेल्स तथा स्विजरल्याण्ड र टर्की प्रतिष्पर्धा गर्दै छन्।
इटालीको रोममा राति ९ः४५ बजे घरेलु टोलीले वेल्ससँग प्रतिष्पर्धा गर्दैछ। यस्तोमा दुवै टोली खेल जितेर शीर्ष स्थानमा पुग्ने दाउमा छन्।
जारी प्रतियोगितामा २ खेल खेलको इटाली ६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ। समान खेल खेलेको वेल्स ४ अंकसहित दोस्रो स्थानमा छ।
आजको खेल जित्ने टोली शीर्ष स्थानमा पुग्ने छ। खेल बराबरी भएमा भने इटाली नै शीर्ष स्थानमा रहने छ।
इटालीले आफ्नो पहिलो खेलमा टर्कीलाई ३–० र दोस्रो खेलमा स्विजरल्याण्डलाई ३–० गोल अन्तरले नै हराएको थियो।
वेल्सले भने आफ्नो पहिलो खेलमा स्विजरल्याण्डसँग १–१ गोलको बराबरी खेल्दा दोस्रो खेलमा टर्कीलाई २–० गोल अन्तरले पराजित गरेको थियो।
यस्तै, आजै राति ९ः४५ बजे बाकुमा स्विजरल्याण्ड र टर्की प्रतिष्पर्धा गर्दै छन्। दुवै टोली प्रतियोगितामा पहिलो जित हासिल गर्ने रणनीतिमा छन्।
जारी प्रतियोगितामा २ खेलबाट १ अंक हासिल गरेको स्विजरल्याण्ड समूहको अंकतालिकामा तेस्रो स्थानमा छ।
जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको स्वीजरल्याण्ड दोस्रो खेलमा इटालीसँग पराजित भएको थियो।
अंकविहीन रहेकाे टर्की भने पुछारमा छ। ऊ जारी प्रतियोगिताको पहिलो खेलमा इटालीसँग र दोस्रो खेलमा वेल्ससँग पराजित भएको थियो।
असार ६, २०७८ आइतबार १०:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।