सिन्धुपाल्चोकको बाढीमा परेका चिनिया, भारतीय र नेपाली गरी २३ जना अझै बेपत्ता

काठमाडौँ : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा गएको पहिरोबाट आएको बाढीमा परेर अझै २३ जना बेपत्ता छन्। असार १ गते गएको पहिरोका कारण आएको बाढीका कारण हेलम्बु र मेलम्ची क्षेत्रमा ठुलो जनधनको क्षति पूर्याएको थियो।
हेलम्बु गाउँपालिकाले सार्वजनिक गरेको विवरण अनुसार पहिरो र बाढीका कारण अझै १९ जना पुरुष र चार जना महिला फेला परेका छैनन्।
गाउँ पालिकाका अनुसार वडा नम्बर १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको पहिरो र त्यसपछि आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन भारतीय र तीन चिनियाँ नागरिक समेत हराइरहेका छन्।
गाउँपालिकाले शनिवार मानवीय र भौतिक क्षतिको हालसम्मको विवरण सार्वजनिक गरेको छ। बेपत्ता हुनेमा हल्देका सुनिल तामाङ, पूर्ण तामाङ, कामी तामाङ, कामी तामाङकी आमा नोकी तामाङ छन्।
यसै गरी हेलम्बु रेन्बो ट्राउट तथा रिसर्च प्रालिका फर्ममा काम गर्ने २ जना महिला र एक पुरुष हराइरहेका छन्। किउलका माधव भण्डारी,चुरेटारका गणेश ज्योति,भण्डारी ट्राउट फर्मका सुरेन्द्र नेपाल, पाल्चोक सेराकी दिलकुमारी खड्का पनि हराइरहेकी छिन्।
पहिरो र बाढीमा परेर च्याङबा तामाङ, उनको श्रीमती काली तामाङ, भिम प्रसाद भण्डारी, तस्बिर तामाङ र ज्ञानेन्द्र कक्षपती समेत हराइरहेका छन्। गाउँपालिकाका अनुसार अब्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनामा काम गर्ने तीन जना चिनिया नागरिक, २ जना भारतीय र २ जना नेपाली नागरिक हराइरहेका छन्।
बाढीका कारण तिम्बुमा रहेको मेलम्ची खोलामा रहेको पुल बगाएको छ। दङतोम्बामा रहेको मोटरेबल पुल, चोक्पु र मेलम्चीघ्याङ जोड्ने नवनिर्मित पुल बगाएको छ भने चनौटे चुरेटारको रातोपुल जोखिममा छ।
बाढीले सो क्षेत्रको ६ वटा झोलुङगे पुल बगाएको गाउँपालिकाले जानकारी दिएको छ। पहिरो र बाढीले विभिन्न सडक खण्डमा असर पारेको छ।
बाढीले च्युरीखर्क, तिम्बु,हल्दे र अब्बाथानमा २८ घर टहरा बगाएको छ। पुरानो चनौटे बजार,मुक्तिटार, गणेशेबगर र किउलसम्म पूर्ण र आंशिक क्षतिका कारण एक सय १३ परिवार विस्थापित भएका छन्। किउलमा रहेको इलाका प्रहरी कार्यालयको भवन बाढीले बगाएको छ। यसै गरी भण्डारी सिममा रहेका तीन घर समेत बगाएको छ। चनौटेमा रहेको मुख्य बजारमा रहेका २५ व्यापारिक पसल बाढीले बगाएको छ।
प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमल्सेनाका अनुसार सो क्षेत्रको आठ ट्राउट फर्म क्षतिग्रस्त भएको छ।
असार ५, २०७८ शनिबार १९:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।