वैदेशिक रोजगारीमा भएका नेपालीको १० दिनको क्वारेन्टाइनको खर्च सरकारले बेहोर्ने

काठमाडौँ : सरकारले वैदेशिक रोजगारीमा गएका र विभिन्न कारणले होटेलमा क्वारेनटाइनमा बस्न नसक्ने कामदारको खर्च व्यहोर्ने निर्णय गरेको छ। १५ दिन बस्नुपर्ने क्वारेनटाइनका लागि सरकारले १० दिनसम्मको खर्च व्यवस्थापन गर्ने निर्णय गरेको हो।
बुधवार बसेको कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले नेपाली श्रमिक अधिक सङ्ख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई , जापान र मलेसिया जस्ता देशहरूमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय समेत गरेको छ। यी देशहरूबाट सातामा दुई हजार जना यात्रु भन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने छन्।
सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय समेत गरेको छ। अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्कन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको छ।
प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधवार प्रम निवास बालुवाटारमा बसेको समितिको बैठकले सिसिएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइने समेत निर्णय गरेको छ ।
असार ३, २०७८ बिहीबार १५:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।