लुम्बिनी सरकारले ल्यायाे ४० अर्ब ९५ करोड रूपैयाँको बजेट

लुम्बिनी सरकारले ल्यायाे ४० अर्ब ९५ करोड रूपैयाँको बजेट

बुटवल : लुम्बिनी प्रदेश सरकारले आगामी आव २०७८/०७९ को लागि झण्डै ४१ अर्ब रूपैयाँको बजेट पेस गरेको छ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले प्रदेशसभामा ४० अर्ब ९५ करोड ९७ लाख बराबरको बजेट पेस गरेका हुन्।

उनले चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख छ भने पूँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रूपैयाँ रहेको जानकारी दिए।  बजेटमा स्थानीय तहमा वित्तिय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार रूपैयाँ विनियोजन गरिएको छ। 

बजेट प्रस्तुत गर्ने क्रममा मन्त्री चौधरीले प्रदेशको समृद्धिको योजना सहितको बजेट ल्याएको दाबी गरेका छन्।

उनले प्रदेश सरकारको मुल नारा कृषि, पर्यटन, उद्योग र ब्यापारलाई प्रवद्र्धन गरी समृद्धिको सपना साकार पार्न पर्याप्त बजेट र प्राथमिकताका आधारमा योजना तर्जुमा गरिएको बताए। 

बजेट कोभिड १९ संक्रमणको महामारी नियन्त्रण, शिक्षा र पूर्वाधार विकासमा केन्द्रित छ। बजेटमा लुम्बिनी प्रादेशिक अस्पताललाई विशिष्टीकृत अस्पतालको रूपमा निर्माण थालनी गर्न २५ करोड रूपैयाँ विनियोजन गरेको छ। 

यस्तै, प्रदेशको जनस्वास्थ्य प्रयोगशालालाई स्तरोन्नति गर्न एक करोड रूपैयाँ, दाङको लमहीमा बनाउने भनिएको ट्रमा सेन्टरका लागि पाँच करोड रूपैयाँ, दाङ प्रादेशिक आयुर्वेद अस्पतालको स्तरोन्नति र बुटवलको लुम्बिनी आयुर्वेद अस्पताललाई २० शय्याको बनाउन दुई करोड रूपैयाँ र नवलपरासी पश्चिम र रुकुम पूर्वमा आयुर्वेद अस्पताल सञ्चालन गर्न एक करोड रूपैयाँ छुट्याइएको बजेटमा उल्लेख छ। 

यसैगरी, सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशभरका सबै सरकारी अस्पतालबाट निःशुल्क रक्तसञ्चार सेवा सुरु गर्न पाँच करोड रूपैयाँ बजेट विनियोजन गरिएको मन्त्री चौधरीले जानकारी दिए। 

मिर्गौैला प्रत्यारोपणका लागि प्रदेश सरकारले प्रतिव्यक्ति दुई लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ। साथै उनले १६ बर्षभन्दा मुनिका क्यान्सर बिरामीका लागि प्रतिव्यक्ति एक लाख रूपैयाँ उपलब्ध गराउने उल्लेख गरे। 

बजेटमा शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ। प्रदेश सरकारले बुटवलको कान्ति माविलाई प्रदेशको विज्ञान अध्ययन गर्ने हवको रूपमा विकास गर्नका लागि सुविधा सम्पन्न भवन निर्माण गर्न ८ करोड ३० लाख बजेट विनियोजन गरिएको छ। 

लुम्बिनी प्रदेशमा तीन ठूला सहरी क्षेत्रलाई महानगरपालिकाका रूपमा विकास गर्न सम्भाव्यता अध्ययन गरिने भएको छ। 

बुटवल, भैरहवा, नेपालगन्ज, कोहलपुर र घोराही तुलसीपुरलाई महानगरपालिका बनाउनको लागि सम्भाव्यता अध्ययन गरी आवश्यक पहल गर्न आवश्यक बजेट विनियोजन गरिएको छ। 

सरकारले तानसेन जाने सडकको विकल्पका रूपमा बनेको वैकल्पिक सडक बुटवल धागो कारखानादेखि झुम्सा जोड्ने सडकलाई थप व्यवस्थित गर्न लुम्बिनी प्रदेश सरकारले बजेट छुट्याएको छ। 

बजेटमा धागो कारखानादेखि झुम्सा जोड्ने सडक निर्माण सुरु गर्नको लागि १० करोड विनियोजन गरिएको छ। ‘कृषि प्राविधिकको सेवामा कृषकको पहुँच’ कार्यक्रमका लागि ३३ करोड रूपैयाँ छुट्याइएको छ। यस कार्यक्रमबाट १ हजार ९२ जना प्रत्यक्ष रोजगारी सिर्जना हुने मन्त्री चौधरीले बताए।

बजेटमा जलविद्युत उत्पादनमा पनि जोड दिइएको छ। त्यस्तै, राष्ट्रिय र प्रादेशिक गौरवका आयोजनाको निरन्तरता एवं तीव्र विकासका लागि आवश्यक व्यवस्था मिलाइएको मन्त्री चौधरीले जानकारी दिए। 

खेलकुद क्षेत्रको पूर्वाधार विकासका लागि प्रदेश खेलकुद परिषद गठन गरी आवश्यक कार्य अघि बढाउन बजेट विनियोजन गरिएको मन्त्री चौधरीले बताए। 

असार १, २०७८ मंगलबार २०:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।