सुदूरपश्चिम सरकारले ल्यायो ३० अर्ब ३३ करोड रूपैयाँको बजेट

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ३० अर्ब रूपैयाँभन्दा बढीको बजेट ल्याएको छ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले मंगलबार प्रदेशसभामा ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रूपैयाँको बजेट प्रस्तुत गरेका हुन्।
विनियाेजित बजेटमध्ये चालूतर्फ १० अर्ब ६६ करोड ९ लाख (३५.१ प्रतिशत) र पूँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख रूपैयाँ छुट्याइएको छ।
बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ। बजेटमा अस्पताल स्तरोन्नति तथा सेवा सुधार वर्ष कार्यक्रम सञ्चालन गर्न २ अर्ब ४२ करोड ५८ लाख र कोरोना लगायतका महामारी रोकथाम र नियन्त्रणका लागि ९० करोड र कैलालीको सेती प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर र टीकापुर अस्पतालमा सरुवा रोग अनुसन्धान केन्द्र स्थापना गर्न ५ करोड रूपैयाँ छुट्याइएको छ।
यस्तै, विद्यालय सुधार कार्यक्रमका लागि एक अर्ब १७ करोड र महिला सशक्तीकरण कार्यक्रमका लागि ५ करोड रूपैयाँ बजेट छुट्याइएको बजेटमा उल्लेख छ।
यसैगरी, कैलाश मानसरोवर प्रवेशद्वार निर्माणका लागि २० करोड ९० लाख, खप्तडमा पूर्वाधार विकास गर्न २ करोड ५० लाख, सशस्त्र द्वन्द्वमा पीडित र घाइते परिवारलाई रोजगार बनाउन १० करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ।
बजेटमा प्रदेशसभाको भौतिक पूर्वाधार तथा कार्यालयका लागि १८ करोड ७८ लाख, सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगको लागि २ करोड ५८ लाख रूपैयाँको विनियोजन गरिएको उल्लेख छ।
यस्तै, वादी समुदायलाई लक्षित गर्दै ३ करोड बजेट, कैलालीका ५ स्थानीय तहबाट धान खरिद गर्न २ करोड ३० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ।
मुख्यमन्त्री कृषि कार्यक्रमका लागि १६ करोड, सुदूरपश्चिम प्रदेश राजधानी निर्माणका लागि २ करोड ७२ लाख रूपैयाँ बजेट छुट्याइएको आर्थिक योजनामन्त्री शाहले जानकारी दिए।
आगामी वर्षको बजेटमा पनि सुदूरपश्चिम प्रदेशका सांसदले ३ करोड रूपैयाँ खर्च गर्न पाउने भएका छन्।
प्रत्येक निर्वाचन क्षेत्रमा प्रदेश पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्न तीन करोडका दरले ९६ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ।
आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेट चालू आर्थिक वर्षको बजेटभन्दा ३ अर्ब कम हो। चालू आर्थिक वर्षका लागि ३३ अर्ब २८ करोड ४८ लाख रूपैयाँको बजेट प्रस्तुत गरिएको थियो।
असार १, २०७८ मंगलबार १९:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।