सुनको मुल्य तोकिन्छ, कारोबार छैन

काठमाडौँ : नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जारी निषेधाज्ञामा पनि सुनको भाउ तोक्दै आएको छ। तर, कारोबार भने ठप्प रहेको महासङ्घले जनाएको छ।
काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा असार ७ गतेसम्म थप भएको छ। थप भएको निषेधाज्ञामा खाद्यान्न पसल खुल्ने समय बढाइएको छ। हार्डवेयर, पुस्तक, मोबाइल पसल दिउँसो ४ बजेपछि खुल्नेछन्।
तर, गरगहना पसल खुल्ला नहुँदा सुनको कारोबार शून्य रहेको महासङ्घका अध्यक्ष मणिकरत्न शाक्यले जानकारी दिए।
अध्यक्ष शाक्यले गरगहना पसल खुल्ने समय पनि नतोकिएकाले देशभर नै सुनको कारोबार ठप्प भएको बताए। ‘पसल खुले पो कारोबार हुनु,’उनले भने,‘मूल्य तोकिएपनि कारोबार छैन।’
उनले अब सामान्यीकरण हुँदै जाने र गरगहना पसल खुल्ने बताए। उनले सुनचाँदी व्यवसायीलाई कोरोना भ्याक्सिन लगाउनु पर्ने माग गरे। उनले सुदूरपश्चिमका केही जिल्लामा स्थानीय प्रशासनले निश्चित समय तोकेर गरगहना पसल खोल्न दिएको बताउँदै अरू प्रदेशमा गरगहना पसल बन्द नै रहेको बताए।
सुनको कारोबार नभएपनि दररेट तोक्दै आएको महासङ्घले आजका लागि सुनको भाउ ९३ हजार २ सय रुपैयाँ तोकेको छ। यो हिजो तोकिएकै मूल्य हो।
यस्तै तेजाबी सुन भाउ पनि हिजोकै मूल्य ९२ हजार ७ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। यस्तै चाँदीको भाउ आज तोलाको १३८५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ।
सामान्य अवस्थामा बजार खुल्ला दैनिक २० किलो भन्दा धेरै सुन कारोबार हुने गरेको महासङ्घले बताएको छ।
असार १, २०७८ मंगलबार ११:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।